नेपाल मेडिकल कलेजमा तोडफोड



काठमाडौंः बुधबार राति नेपाल मेडिकल कलेजको अस्पतालमा तोडफोड भएको छ । उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका हुन्।अस्पतालका एक कर्मचारीका अनुसार प्यांक्रियाटाइटिसका एक बिरामी उपचारका क्रममा ‘सक’मा गएका थिए । उनको आइसियुमा सिफ्ट गर्ने क्रममा मृत्यु भएको थियो । मृत्यु हुनेमा काँगेश्वरी मनोहर नगरपालिकाका ४५ वार्षिय सुर्दशन फुयाँल रहेको बुझिएको छ।

मृतकका आफन्तले अस्पतालको लापरबाही भन्दै तोडफोड सुरु गरेका थिए ।  अस्पतालका सिसा, टेबुल, कुर्सी, झ्याल, केही उपकरण र  गाडी समेत क्षति पुगेको देखिएको छ। अस्पतालमा क्षति रोक्न पुगेको प्रहरी र मृतकका आफन्तबीच झडप समेत भएको थियो । यसक्रममा मृतकका छोरा सहित केही व्यक्ति सामान्य घाइते समेत भएको बुझिएको छ।

अस्पताल र बिरामीका आफन्तबीच राति नै सहमति भइसकेको बताइएको छ । अस्पतालले भने यस बारे विस्तृतमा जानकारी दिन चाहेन ।  कलेज सञ्चालक मध्येका एक डा भोला रिजालले भने, ‘अलिकति थोरै केस भएको थियो । तोडफोड भन्दा पनि अलिकति थोरै बाहिरबाट आएका मान्छेले तोडफोडको प्रयास गरेछन् । अरु केही होइन।’ 

प्रतिक्रिया दिनुहोस्