सरकारले सबै आपराधिक गतिविधि नियन्त्रण गर्छ : मन्त्री पण्डित



जनकपुरधाम: संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अब सबै आपराधिक गतिविधि कडाइपूर्वक नियन्त्रण गरिने बताएका छन्। बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पण्डितले संविधान, लोकतन्त्र र गणतन्त्रविपरीत कसैलाई पनि आपराधिक गतिविधि गर्न छुट नरहेकाले त्यस्ता गतिविधि नियन्त्रण गर्न सरकार अघि बढिरहेको बताए।

‘उच्चस्तरीय वार्ता टोलीले आपराधिक गतिविधि गर्ने सबै भूमिगत तथा अर्धभूमिगत समूहलाई राजनीतिक मूलधारमा ल्याउन काम गरिरहेकोछ । सरकारले जयकृष्ण गोइत र विप्लव समूहलाई समेत वार्ताबाट समस्या समाधान गर्न पत्र पठाइसकेको छ’, पत्रकारको जिज्ञासामा मन्त्री पण्डितले भने, ‘उहाँहरू पनि राजनीतिक मूलधारमा आउने विश्वास छ।’

डा.सिके राउतसँग जनमत संग्रहका लागि कुनै सम्झौता नगरिएको प्रष्ट पार्दै उनले भने, ‘जनमत भनेको निर्वाचनको लागि सम्झौता गरिएको हो। तर पत्रकारले देश टुक्र्याउने जनमत संग्रहका रूपमा अथ्र्याए।’ उनले संविधानमा व्यवस्था गरिएको तह र पदका लागि निर्वाचनमा जाने सम्झौता भएको दाबी गरे।

कर्मचारी समायोजनको प्रसंगमा उनले स्वास्थ्यबाहेक सबै निकायमा कर्मचारी समायोजन भइसकेको दाबी गर्दै आउँदो असारभित्र ३२ हजार कर्मचारी पनि नियुक्ती गर्ने बताए। उनले त्यसका लागि एक साताभित्रै लोकसेवा आयोगले विज्ञापन गर्ने जानकारी दिए।

मन्त्री पण्डितले प्रदेशको लोकसेवा गठन नभएसम्म संवैधानिक व्यवस्थाअनुसार प्रदेश र स्थानीय तहको कर्मचारी छनोट गरिदिने प्रष्ट पारे। असारभित्र सबै प्रदेश र स्थानीय तहमा कर्मचारी पठाइसक्ने बताए।

प्रतिक्रिया दिनुहोस्