अपर बलेफी हाईड्रोपावरले बेहाल नाम्फेली



सिन्धुपाल्चोक : भीमकाय पहाडबीचमा एउटा सुन्दर गाउँ छ, नाम्फा । जुगल गाउँपालिका दुईस्थित नाम्फाको दायाँबाँया विशाल पहिरो खसेका छन् । पहिरोले केही घर पुरेको छ । केही बगाएको छ । बस्ती आसपासका खेतबारी सबै बगेको छ, पुरिएको छ । तल उर्लिएर गडगडाउँदै बगेको छ, बलेफी खोला । खोलो उर्लिएर आउँदा कतिबेला बस्ती नै खोला छेक्न पुग्ने हो थाहा छैन । बस्ती नै जोखिममा परेपछि नाम्फाबासी विस्थापित भएका छन्, यतिबेला । उनीहरुको पीडा कम्ति दर्दनाक छैन ।

पहिरोले बस्ती नै जोखिममा पारेर नाम्फेलीलाई विस्थापित बनाउने प्रधान कारण हो, बलेफी खोलामा निर्माणाधीन अपर बलेफी जलविद्युत आयोजना । ३६ मेगावाट क्षमताको उक्त आयोजना निर्माण गर्दा मनलाग्दी गरिएका कारण नाफ्ना जोखिममा परेको हो । नाम्फेली विस्थापित भएका हुन् ।

स्थानीयलाई विस्थापित गरेर कसका लागि किन जलविद्युत आयोजना बनाउनुपर्यो ? स्थानीयस्तरमा यो प्रश्न पेचिलो बनेर उठेको छ । २६ असारमा सिगैँ बस्तीलाई तीनतिरबाट पहिरोले घेरेपछि नाम्फाबासीको निन्द्रा हराएको छ ।

स्थानीयसँग भएको सम्झौताविपरीत आयोजनाले बस्तीमुनि मनलाग्दी सुरुङ खन्दा समस्या भएको स्थानीयको बुझाई छ । बस्तीमुनि जलविद्युत आयोजनाले सडक खनेको छ । आयोजनाको ड्याम बनाएको छ । त्यस्तै आयोजनाको कार्यालय पनि बस्तीमुनिको जमिन खनेर बनाइएको छ । जसकारण बस्ती जोखिममा परेको प्रष्ट हुन्छ । आयोजनाले स्थानीय प्रशासनलाई समेत आफ्नो पकडमा पारेर बस्तीमाथि खेलबाड गरेको स्थानीय सहदेव सिलवालको बुझाई छ ।

नाम्फा बस्ती मात्र होइन बस्तिसम्म पुग्ने बाटो पनि जोखिममा छ । २५ असारमा रातभर परेको पानीले नाम्फालाई राजमार्गसँग जोड्ने लप्सी खोलाको झुलुगें पुलमा क्षति पुगेको छ । ज्यानको जोखिम मोलेरै स्थानियबासी पुल तर्छन् ।

नाम्फा बस्ती सुरु हुने ठाउँमा एउटा खहरे खोला छ । त्यो खहरेमा आएको बाढी र पहिरोले नाम्फा बस्ती छिर्ने बाटो भत्काएको छ । केही खेत बगाएको छ । खहरेको पहिरो र बाढी पार गरेपछि ठूलो नाम्फा पुगिन्छन् ।

पहाडको खोचमा रहेको ठूलो नाम्फाको टुप्पोमा एउटा बडेमानको ढुंगा छ । ढुंगाले आफ्नो साविकको स्थान छाडिसकेको छ । ढुंगा जतिखेर पनि बस्तिमाथि बज्रिन सक्छ ।

ठूलो नाम्फाबाट अलिक पूर्वतिर लागेपछि अर्को खहरे आउँछ । यही खहरेले ठूलो नाम्फा र सानो नाम्फा छुट्याउँछ । २६ असारमा यो खहरे पनि उर्लेर बाढी र पहिरो आयो । ठूलो नाम्फा र सानो नाम्फा छुट्याउने खहरेको पूर्वतिर खहरेसँगै जोडिएको छ सानो नाम्फा ।

सानो नाम्फाको पूर्वतिर बस्तीसँगै जोडिएको छ अर्को खहरे । यो खहरेले पनि २६ असारमा पहिरो ल्यायो । सानो नाम्फाको पूर्वी किनार मात्र होइन बस्तिको तल्लो(दक्षिणी)भाग पनि यसले पहिरो ल्यायो । सिंगो नाम्फाको दक्षिण भागमा भिर छ । भिरको ठिक तल बलेफी÷ब्रह्मायणी बग्छ । यसरी सिंगै नाम्फा पहिरोले घेरिएको छ ।

सबैतिरबाट पहिरोले घेरेपछि घरको बास छाड्नु परेकी भगवती भन्छिन्, ‘पानी पर्यो भने त सातो जान्छ ।’ भगवती मात्र होइन सानो नाम्फाका १८ घरका मानिसहरु आजभोलि रात बिताउन ठूलो नाम्फा जान्छन् ।

२६ असारको पहिरोले पहिरोमा भगवतीको खेत बारी सबै पुरियो । एकातिर बासको ठेगान छैन, अर्कोतिर खेतबारी नै पहिरोले पुरिएपछि भगवती विक्षिप्त बनेकी छन् ।

‘पहिरोबाट बाँचेछौ भने पनि खाने माना छैन् । अलि–अलि खेतको टुक्रा थियो त्यही पनि अहिलेको पहिरोले लग्यो । के खाएर बाँच्नु ?’ भगवती प्रश्न गर्छिन्, ‘विकासका लागि बनाउन लागिएको हाइड्रो हाम्रो बिचल्ली बनायो ।’

भगवतीलाई ठूलो नाम्फा जान अबेर भइसक्यो भन्दै सम्झाउन आईपुगिन्–मिनकुमारी राउत । २६ असारको पहिरोले सबैभन्दा बढी क्षति मिनकुमारीको घरमा भयो । उनको गोरु मर्यो । पाडो मर्यो । एउटा गोरु घाइते भयो । मिनकुमारीको घरको आगनमै पहिरो पुग्यो ।

६ जनाको परिवारसहित मिनकुमारी पनि ठुलो नाम्फा बास बस्न जान्छिन् । ‘भल पसेर अन्न, ओड्ने ओच्छ्याउने सप्पै काम नलाग्ने भयो,’ मिनकुमारी भन्छिन्, ‘गाउँलेसंग मागेर खाईरहेका छौ ।’

सबैतिरबाट पहिरोले घेरिएका नाम्फाबासीलाई निरन्तर दर्किरहेको झरीले आतंकित बनाएको छ । ‘सबैतिर एकैचोटी पहिरो गयो । अब कता जानु ? हामी त मर्छौ होला ।’ मिनकुमारी निराश हुँदै भन्छिन् ।

चारैतिरबाट पहिरोले घेरेपछि सानो नाम्फाबासीले बाँच्ने आशै मारिसकेका थिए । ‘दुबैतिर पहिरो आएपछि अब त लग्यो जस्तो लागेको थियो । हामी त अहिले पनि थरथरी कामेका छौ,’ पहिरो सम्झदा मिनकुमारी अहिले पनि त्रसित हुन्छिन्, ‘यताको मान्छे उता जान नसक्ने । उताको यता आउन नसक्ने ।’

६६ वर्षका सहदेव सिलवाल पहिरोले लगेको आफ्नो बारी हेर्दै टेलाईरहेकाछन् । २०७२ को भूकम्पमा गएको पहिरोले पनि सहदेवको बारी लगेको थियो । पहिरोले लगेको बारी बल्ल, तल्ल सम्याएका सहदेवको बारी यसपटक फेरी पहिरोमा गयो ।

‘मन खोपीन्छ,’ सहदेवका आँखा टिलपील भएकाछन्, ‘अब जिन्दगी गयो । परिवार गयो हाम्रो त । बल्ल तल्ल बनाएको खेतबारी गयो । घर पनि जाला जस्तो भईसक्यो ।’ बोल्दा बोल्दै सहदेव रोकिन्छन्, आँशु पुच्छन् ।

‘हामी त घेरा बन्दीमा पर्यौं, हजुर !’ सहदेव दुवै हात जोड्छन्, ‘दायाँ बायाँ चल्ने ठाउँ छैन् । बास बस्न अर्काको घर जान्छौ । कतिखेर लाने हो थाह छैन् । कतिखेर मर्ने हो भन्ने नै थाह छैन् । हामीलाई बचाउनुपर्यो हजुर !’

पहिरोबाट जोगिन ठूलो नाम्फामा घरको गोठमा बसिरहेकी छन्–गंगादेवी भुजेल । ३५ वर्षकी गंगादेवीको ७ जनाको परिवार छ । परिवारमा ८५ वर्षिय दृष्टिविहिन पनि छन् । पहिरोको डरले घर छाडेर गोठमा बसिरहेकी गंगादेवी भन्छिन, ‘अन्नपानी केही सार्न पाएनौ । आँगनसम्मै पहिरो आयो । अहिले त मागेर खानु परेको छ ।’

This image has an empty alt attribute; its file name is 109514228_288921842194057_2802445465244059201_n.jpg

ज्यान जोगाउन सानो नाम्फबाट ठूलो नाम्फामा आएपनि ठूलो नाम्फा समेत सुरक्षित छैन् । ठुलो नाम्फाका शंकरबहादुर दाहाला भन्छन, ‘यो पनि सुरक्षित छैन् । माथि डाँडाबाट ठूलो ढुंगा जतिखेर पनि खस्न सक्छ । अस्ति नै आर्मी आएर, यहाँ नबस ढुंगा खस्न सक्छ भनेको छ ।’ ढुंगा मात्र होइन ठूलो नाम्फाको पश्चिमी र पूर्वी दुवै भागमा पहिरो गएको छ ।

भूकम्पले थिलथिलो बनाएको बस्तीमा हाईड्रो पावरको कहर !
२०७२ को भूकम्पमा नाम्फा गाउँका सबै घर भत्किएका थिए । पहिरो समेत गएको थियो । ३२ जनाको मृत्यु भएको थियो । भूकम्पले सिंगै बस्ती नै उजाड बनाएपछि नाम्फाबासीहरु गाउँ छाडेर लामो समय राजधानीमा पाल टाँगेर बसेका थिए । सरकारले राहत दिनेभएपछि मात्र नाम्फाबासी गाउँ फर्केका हुन् । भूकम्पछिको १ वर्ष राजधानीमा पाल टांगेर बसेका सहदेव भन्छन, ‘काठमाडौंबाट यहाँ फर्केपछि सरकारले यो गाउँमा बस्न हुँदैन भनेको थियो ।’

सरकारले सिन्धुपाल्चोकका नाम्फासहित १ दर्जन बस्ती सारेर नयाँ नमुना बस्ती बनाउने योजना बनाएपनि कार्यान्वयन भने भएन् । सरकारी योजना कार्यान्वयन नभएपछि स्थानीयबासीले जोखिम मोलेरै बस्न अयोग्य भनिएको ठाउँमा फेरी बस्ती बसाए ।

पहिल्यैदेखि पहिरोको उच्च जोखिममा रहेको नाम्फा बस्तीको ठिक मुनिबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ‘ए’ हाईड्रोपावर परियोजनाले ४ किलोमिटर सुरुगं खनेपछि बस्ति झन जोखिममा परेको स्थानीयबासी बताउँछन् ।

‘सुरुङ खन्ने समयमा बम पड्काउँदा यहाँ हाम्रो घर हल्लिन्थ्यो,’ भगवती सम्झिन्छन्, ‘भूकम्प आयो कि भनेर हामी बाहिर दौडिन्थ्यौ ।’

हाईड्रोपावर परियोजनाले बस्तिमा थप जोखिम बढेपछि स्थानयीबासीले जिल्ला प्रशासन कार्यालय । गाउँपालिका कार्यालय । हाईड्रो पावर परियोजना सबैलाई गुहार मागेका थिए ।

सुरुङका कारण नाम्फाका घर चर्केको । सुख्खा पहिरो गएको । घर भत्केकोभन्दै स्थायनीबासीले बारम्बार गुनासो गरेपनि कतैबाट सुनुवाई भएन् । ‘जमिनभित्र सुरुङ बनाउँदा त हाम्रो घर थरथर हुन्थ्यो । चुलोको खाना तल खस्थ्यो, ’ सहदेव भन्छन्, ‘यो हाईड्रो खोलेको हामीलाई थाह नै छैन् । हामीले गुनासो गर्दा पनि टेरेनन् ।’

स्थानीयबासीले सुरुङ खन्दा सुख्ख पहिरो गएको । बस्ती जोखिमा परेको भन्दै २ चैत २०७५ मा पहिलोपटक हाईड्रोपावरलाई पत्र लेखेका थिए । स्थानीयको गुनासो सुनुवाई नगरेपछि ८ असोज २०७६ मा प्रमुख जिल्ला अधिकारीको रोहबरमा हाईड्रोपावर र स्थानीयबासीबिच छलफल भएको थियो ।

छलफल अनुसार हाईड्रो पावरले स्थानीयको गुनासो सम्बोधन नगरेपछि ३० असोज र २४ काक्र्तिकमा स्थानीयबासी र हाईड्रोबिच फेरी छलफल भएको थियो । तर, हाईड्रोपावरले स्थानीयको माग सम्बोधन नगर्ने अडान लिएपछि स्थानीयबासी गाउँपालिकाको शरणमा पनि पुगेका थिए ।
स्थानीयको माग सम्बोधन गर्नुको सट्टा हाईड्रोको सुरुङले आफ्नो बस्ती जोखिममा परेको गुनासो गरेपछि प्रहरी लगाएर आफूहरुलाई धम्कि दिएको बताउँछन सहदेव । ‘हाम्रो घर,बारी जाने भयो भनेपछि उल्टै पुलिस ल्याएर हामीलाई डराए ,’ सहदेवले भने ।

‘हामी गरिबलाई मारेर छाड्ने भए,’गंगादेवी भन्छिन, ‘पहिल्यै जोखिम छ भनेको ठाउँमा सुरुगं नखन भनेको कसैले हाम्रो कुरा सुनेनन् ।’

आर्थिक अवस्था कमजोर भएकै कारण जोखिम मोलेरै भएपनि गाउँमा बस्नु परेको बताउँछन् शंकरबहादुर । ‘पैसा भएको भए त सुरक्षित ठाउँमा बस्थे नि । पैसा नभएरै त यहाँ बस्नु परेको ।’

भूकम्पपछि अधिकांश नाम्फाबासीले भूँईतले घर बनाएकाछन् । ‘भूकम्पले लाँदैन भनेर भूँईतले घर बनाएको, त्यही पनि पहिरोले लाने भयो,’ ७२ वर्षिय सानुमाया दोगं भन्छिन् । भूकम्पमा गएको पहिरोले सानुमायको आधा खेत लग्यो । बाँकी बचेको खेत अहिलेको पहिरोले ।

‘पहिरोले लगेन भने घाँसपात खाएर त बाँच्ने होला नि,’ विकल्पविहिन भएकी सानुमाया भन्छिन, ‘कि पहिरोले मार्छ । कि भोकले ।’

मानव बसोबास योग्य नभएपछि १० घरका नाम्फाबासीले सधैंका लागि नाम्फा छाडिसकेकाछन् ।

सबैतिरबाट जोखिममा परेपछि नाम्फबासीहरु अहिले मकैबारीमा पाल हालेर बस्ने तयारी गर्दैछन् । निरन्तरको झरीले पालमा बस्न पनि सजिलो छैन । ‘सबैतिर पहिरो छ, पालमा बसेर पनि के बाँचिएला र ?’ मिनकुमारी भन्छिन् ।

चारैतिर पहिरो गएपछि नाम्फाको विद्युत सेवा पनि अवरुद्ध भएको छ । विद्युत नहुँदा रातीमा झन कष्ट भएको बताउँछिन इन्द्रकुमारी सिलवाल । ‘राति डरले निन्द्रा लाग्दैन् । यताउती भागौं भनेपनि उज्यालो छैन्,’ इन्द्रकुमारी भन्छिन, ‘दिउँसो त मान्छे देखिन्छन् मन शान्त हुन्छ । राती त डरले काँपेर बस्नुपर्छ ।

२६ असार यता ५ जनाको परिवार सहित आफ्नो घर छाडेर अर्काको घरमा शरण लिईरहेकाछन ५० वर्षे लछुमान भुजेल । लछुमान भन्छन, ‘भूकम्पले हल्लायो । सुरुङको विस्फोटले हल्लायो । पहिरोले हल्लायो । घरभित्र बसिसक्नु छैन । जता हेर्यो त्यतै पहिरो, हामी त कालै कुरेर बसे जस्ता भयौ ।’

प्रकाशित : साउन ६, २०७७

प्रतिक्रिया दिनुहोस्