वीरगन्ज प्रहरीको दादागिरी ! २ सय ज्यालामा तीन लाख ६४ हजारको क्षतिपूर्ति 



वीरगन्ज : वीरगन्ज महानगरपालिका १७ अलौंका अटो रिक्सा चालक सतन महतोले आफ्नो नियमित काममा थिए। उनी वीरगन्जको रानीघाटदेखि पश्चिम भहुअर्वाभाट्टासम्मको रुटमा अटो रिक्सा चलाउँछन्। रानीघाट, भहुअर्वाभाट्टा बीचको अलौंमा चण्डाल चोक पर्छ।

मंगलबार महतो रानीघाटमा यात्रु कुरिरहेका थिए। एकैछिनमा एकजना आएर उनीसँग चण्डाल चोकसम्म सामान लिएर लगिदिन आग्रह गरे। ती व्यक्तिले महतोलाई २ सय रुपैयाँ दिने ज्याला दिने भए। उक्त व्यक्तिले नजिकै रहेको कलवार इन्टरप्राइजेजमा पुगी १७ हजार ८ सय रुपैयाँमा साँढे तीन क्विनटल मटन(केराउ) दाना किन्यो। उसले भ्याट बिल पनि बनाएको थियो। तर, ती व्यक्तिले महतोलाई अटोरिक्सा अगाडि बढाउन आग्रह गरे। 

यो सबै दृश्य किराना पसल नजिकै रहेका रानीघाट प्रहरी चौकीका एक प्रहरीले हेरिरहेका थिए। अटोरिक्सा अलिकति मात्र के अघि बढेको थियो, ती प्रहरीले सोधपुछ गर्नु छ भनी अटो रिक्सा, त्यहाँ राखिएको मटर र अटो चालक महतोलाई नियन्त्रणमा लिए। र बुझाए, रानीघाट प्रहरी चौकीमा। 

रिक्सा चालक महतो चकित परे। उनले अटोमा रहेको सामान आफूले ज्यालादारीमा बोकेको र भन्दै सामानको भ्याट बिलसमेत रहेको स्पष्टीकरण दिए। तर, उल्टै ती प्रहरी धेरै जान्ने नहुन आग्रह गर्दै महतोलाई हप्काए। मटरदानाका मालिक समान लोड गरी ठेगाना दिएर गइसकेका थिए। 

माथिको घटना वीरगन्जमा प्रहरी ज्यादतीको एउटा उदाहरण हो। प्रहरीले बुधबार १० बजे रिक्सा चालक महतोमाथि ६४ हजारको बिगो दाबी गर्दै आवश्यक कारबाहीको लागि सामानसहित वीरगन्ज भन्सार कार्यालयमा बुझाएको छ। महतोको रिक्सासमेत प्रहरीले सिज गरिदिएको छ। प्रहरीको भनाइमा उक्त समान चोरीको हो। चालकले उक्त मटरकोसा चोरी गरी ल्याएको प्रहरीले बताएको छ। 

जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार कार्यालयमा बुझाएको प्रतिवेदनमा चालकले भन्सारबाट चोरी पैठारी गरेको आरोपसहित बिगो दाबी गरिएको छ। महतोले गाउँकै साहुसँग सयकडा तीन रुपैयाँका दरले ऋण लिएर भन्सार कार्यालयमा ६४ हजार बिगो तिरेर छुटेका छन्। भन्सार कार्यालयमा भेटिएका महतोले दुःख पोख्दै भने, ‘प्रहरी ज्यादती ग¥यो, मैलै अनाहकमा ६४ हजार तिर्नुपरो, मेरो ३ लाख पर्ने रिक्सा पनि भन्सार कार्यालयले सिज नै गरिदियो।’ 

यता पर्सा प्रहरीले भने खरिद गरिएको मटर दाना भारत तस्करी हुन लागेकाले रोकेको दाबी गरेको छ। सोही कारण नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाएको प्रहरी बताउँछ। वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी नायब निरीक्षक प्रेमबहादुर खत्रीसँग बुझ्दा उनले भने, ‘एसपी साहेबको आदेशमा यो गरएको हो।’ बिनाबिल पक्राउ गरएको भनी झूटो प्रतिवेदन बनाई कारबाही लागि बिगो दाबी प्रहरीले गरेको छ। पर्सा जिल्लाको सदरमुकाम वीरगन्ज हो। वीरगन्जबाट पश्चिम ७० किलोमिटरसम्म पर्सा फैलिएको छ। वीरगन्ज बजारबाट समान खरिद गरी व्यवसायीहरु पश्चिततर्फ आआफनो पसलमा सामान बेच्न जाने गरेका छन्। 

प्रहरीकाे दादागिरी !

वीरगन्जमा प्रहरीको नियत ठिक नभएको किराना व्यवसायी रमेश गुप्ताले आरोप लगाए। उनले भने, ‘वीरगन्जबाट बिलसहित समान जिल्लाका ग्रामीण भेगमा लैजान पाइन्छ, यो प्रहरीको दादागिरी हो।’ सामान लैजाँदै गर्दा बीच बाटोबाट नियन्त्रणमा लिएर भारततर्फ लगिरहेको आरोप लगाई प्रहरीहरुले सधैं दुःख दिइरहेने यहाँ स्थानीय व्यापारीहरू बताउने गर्छन्। 

जिल्ला प्रहरी कार्यालयका पर्साका प्रहरी प्रवक्ता आनन्द राम शर्माले मटरसहित चालक, अटो रिक्सा भन्सार कार्यालयमा बुझाइएको भनी आफूलाई पनि जानकारी आएको बताए। हचुवाको भरमा उनले भने, ‘चालकले गलत गरेका होलान्, त्यही भएर प्रहरीले समाते।’ उनले आफूलाई यस विषयमा खासै जानकारी नभएको बताउँदै भने, ‘छानबिन गरौंला, यसबारे आवश्यक प्रक्रिया अघि बढाउँला।’ 

प्रतिक्रिया दिनुहोस्