त्रिविका क्याम्पसहरु आजबाट खुल्यो



काठमाडौं : त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरु आज (बुधबार) खुल्ने भएका छन् ।

सरकारले साउन ६ गतेदेखि लकडाउन अन्त्य भएको घोषणा गरेसँगै आजदेखि क्याम्पस तथा कार्यालयहरु सूचारु हुने त्रिविले जानकारी दिएको छ । योसँगै शिक्षक र कर्मचारीहरुको सार्वजनिक बिदा पनि सकिएको छ ।

क्याम्पसहरु खुले पनि विद्यार्थीहरुको नियमित पठनपाठन र पुस्तकालय सञ्चालन भने नहुने त्रिवि रजिष्ट्रारको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

कोरोना संक्रमण जोखिमका कारण सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । त्यस बेलादेखि नै क्याम्पसहरु पूर्णरुपमा बन्द गरी परीक्षाहरु पनि स्थगित गरिएको थियो । शिक्षक तथा कर्मचारीहरुलाई लकडाउन अवधिभर सार्वजनिक विदा दिइएको थियो ।

यद्यपि त्रिभुवन विश्वविद्यालयले प्रशासन भने असार १ गतेदेखि खोलेको थियो ।

गत सोमबारको मन्त्रिपरिषद बैठकले साउन ६ गते मध्यरातिदेखि लकडाउन अन्त्य गर्ने निर्णय गरेरसँगै ७ गतेदेखि क्याम्पस सुचारु हुने त्रिविको सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीले बताए ।

यसैगरी सरकारले आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । सोहीअनुसार त्रिविले भदौ पहिलो साताबाटै परीक्षाहरु लिन सुरु गर्ने तयारी थालेको छ ।

प्रकाशित : साउन ७, २०७७

प्रतिक्रिया दिनुहोस्