प्रदेश १ मा बन्दको आंशिक प्रभाव : शैक्षिक संस्था र यातायात चलेनन्, बजार र उद्योग सञ्चालन



विराटनगर : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बिहीबार आह्वान गरेको बन्दको प्रभाव मोरङमा आंशिक परेको छ । बन्दले शैक्षिक संस्था र यातायात प्रभावित हुँदा उद्योग कलकारखाना र बजार पसल भने बिहानैदेखि खुलेका छन् । 

मोरङ व्यापार सङ्घका अध्यक्ष पवनकुमार सारडाले जथाभाबी गरिने बन्दका कारण उद्योगधन्दामा असर पर्ने बताउँदै भने, ‘औद्योगिक क्षेत्रमा कुनै पनि बन्दको प्रभाव पर्दैन ।’ यसलाई बन्दको उल्लङ्घनका रूपमा बुझ्न नहुने उनको भनाइ छ । बन्द र हडतालले पार्ने नकारात्मक असरका बारेमा बन्दकर्ता गम्भीर हुनुपर्नेमा उनले जोड दिए । 

बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन भने चलेका छैनन् । जसका कारण यात्रु मर्कामा परेका छन् । नेपाल यातायात मजदुर सङ्घका सह–सचिव भुपाल केसीले बन्दका कारण यातायात क्षेत्र प्रभावित बनेको बताए । उनले  अवस्था हेरेर साँझबाट सवारी साधन चलाउने या नचलाउने  निर्णय हुने जानकारी दिए । 

मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बन्दका कारण हुने समस्यालाई मध्यनजर गर्दै  सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए । ‘ठाउँठाउँमा बन्दका नाममा आपराधिक क्रियाकलाप हुन सक्नेतर्फ प्रहरी सचेत छ,’ उनले भने, ‘राजमार्ग, बजार क्षेत्र, सार्वजनिक स्थल, भित्री सडक, शैक्षिक तथा औद्योगिक क्षेत्रलगायत सबै ठाउँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।’ 

केसीले बन्दका नाममा कुनै पनि अवाञ्छित गतिविधि भए तत्काल नियन्त्रणमा लिएर कारबाही अघि बढाइने जानकारी दिए । विराटनगरमा पाँचौँ साफ च्याम्यिनसिप जारी रहेकाले पनि बन्दको प्रभाव नपरोस भनेर विशेष सुरक्षा व्यवस्था मिलाइएको उनको भनाइ छ । 

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार बन्दका क्रममा प्रदेशभर नै कुनै घटना भएको छैन । प्रदेश प्रहरी प्रवक्ता डिएसपी सिद्ध न्यौपानेले १४ वटै जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी दिए । हरेक जिल्लामा नेपाल र सशस्त्र प्रहरीको विशेष टोली परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्