झापामा पहिरोले घर पर्दा एकको मृत्यु, तीन घाइते



झापा : झापामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने ती जना घाइते भएका छन् ।
जिल्लाको बुद्धशान्ति गाउँपालिका–७ मोतीडाँडामा गएको पहिरोले घर पुर्दा मेचीनगर–९ निवासी १५ वर्षीय विवेक दर्नालको मृत्यु भएको हो ।

यसैगरी पहिरोमा परि ७७ वर्षीया तीलमाया बराइली, २१ वर्षीया कल्पना बराइली, १९ वर्षीया पृष्टिना बराइली घाइते भएका छन् ।

दर्नाल मेचीनगरबाट बुद्धशान्ति–७ निवासी तेजकुमार बराइलीको घरमा पाहुना गएका थिए । उनको मंगलबार राति गएको पहिरोले घर पुर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घाइते तीनैजनाको स्थानीय मेडिकल लिभिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मङ्गलबार राति गएको पहिरोले घर पुर्दा घाइते भएकाहरुलाई स्थानीयवासी, प्रहरी र जनप्रतिनिधिले उद्धार गरेको वुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले जानकारी दिए । पहिरोका कारण सोही ठाउँका थप दुई घर जोखिममा परेपछि उनीहरुलाई स्थानीय चर्चमा राति नै सारिएको छ ।

वुद्धशान्ति गाउँपालिका इलामसँग सीमाना जोडिएको गाउँपालिका हो ।

प्रकाशित : साउन ७, २०७७

प्रतिक्रिया दिनुहोस्