भलुई खोला टेन्डरमा लाखौं भ्रष्टाचार भएको खुलासा



वीरगन्ज : पर्साको पटेर्वा सुगौली गाउँपालिकामा ढुंगा, बालुवा र गिट्टी विक्री तथा निकासी गर्न आव्हान गरिएको भलुई खोलाको टेन्डरमा व्यापक अनियमितता भएको सार्वजनिक भएको छ । गाउँपालिकाका मेयर र प्रशासकीय अधिकृतले भलुई खोला टेन्डरमा व्यापक अनियमितता गरेको आरोप लागेको घटना सार्वजनिक भएको हो ।

खोलाको टेन्डर २ करोड ७२ लाखमा स्विकृत भए पनि गाउँपालिका प्रमुख हिरा चौधरी र प्रशासकीय अधिकृत सरोज चौधरीले लाखौं रुपैयाँ घुस लिएर पुन गोप्य रुपमा टेन्डर आव्हान गरी १ करोड ९ लाखमा नवगावा निर्माण कम्पनीसँग सम्झौंता गरेको रहस्य खुलेको छ ।

२ करोड ७२ लाख ५१ हजार ९ सय ९९ रुपैयाँमा प्रथम कबुल गरेको निमिया माई निर्माण सेवासँग सम्झौता नगरी गाउँपालिकाका प्रमुख र प्रशासकीय अधिकृतले ७० लाख हिनामिना गरेको निमिया माई निर्माण सेवाका संचालक अशोक कुमार साहले आरोप लगाए । बिहीबार साहले नेपाल पत्रकार महासंघ पर्सा शाखामा पत्रकार सम्मेलन नै गरी गाउँपालिका प्रमुख र प्रशासकीय अधिकृतले भलुई खोलाको टेन्डरमा ७० लाख रुपैयाँ भ्रष्टचार गरेको आरोप लगाए ।

जिराभवानी र पर्टेवा सुगौली गाउँपालिकाले संयुक्त रुपमा भलुई खोलाबाट २२ लाख १८ हजार ६ सय ५३ घनफिट ढुंगा, बालुवा, गिट्टी विक्री तथा निकासी गर्न २०७५ साउन ३१ गते बोलपत्र आव्हान गरेको थियो । गाउँपालिकाले गरेको टेन्डरमा तीन ठूला निर्माण कम्पनीले गोप्य रुपमा टेन्डर हालेका थिए । सुरर्जाहा ७ पर्सामा रहेको निमिया माई निर्माण सेवाले सबैभन्दा बढी २ करोड ७२ लाख ५१ हजार ९ सय ९९ रुपैयाँमा टेन्डर हात पारेको थियो ।

दोश्रोमा चितवनको भरतपुरका एन.के ईन्टरनेशनलले १ करोड ९१ लाख, र तेश्रोमा पर्साको पकाहा मैनपुर गाउँपालिकामा रहेको रहेको एन.एस.निर्माण कम्पनीले १ करोड ७० लाख रुपैयाँमा टेन्डर हालेका थिए । निमिया माई निर्माण सेवाले २०७५ भदौ १ गते टेन्डर हात पारे पनि अहिलेसम्म स्वीकृत पाएको छैन् । तर, गाउँपालिका प्रमुख र प्रशासकीय अधिकृतले यी तीन ठूला कम्पनीलाई टेन्डरको स्वीकृत नदिई पर्सा क्षेत्र नम्बर ४ का प्रदेश सभा सदस्य सिंहासन साह कलवारको नवगावा निर्माण कम्पनीलाई गोप्य रुपमा १ करोड ९ लाख ९९ हजार १ रुपैयामा टेन्डर स्वीकृत गरेको हो ।

साहले प्रतिघन फिट १२ रुपैयाँ ६० पैसामा टेन्डर स्वीकृत गरेपनि गाउँपालिकाका प्रमुख तथा प्रप्रशासकीय अधिकृतले ७० लाख रुपैयाँ घुस लिएर नवगावा निर्माण कम्पनीसँग ४ रुपैयाँ १० पैसा प्रतिघन फिट ढुंगा, बालुवा, गिट्टी विक्री तथा निकासी गर्न गोप्य सम्झौता गरी राज्यको करोडौ रुपैयाँ भ्रष्टाचार गरेको देखिएको छ । 

सबैभन्दा बढी रकममा टेन्डर स्वीकृत गरेका निमिया माई निर्माण सेवा कम्पनीले गाउँपालिकालाई सम्झौता गर्न बारम्बार ताकेता गरे पनि आलटाल गर्दै आएको कम्पनीका संचालन अशोक कुमार साहले बताए । उनले भन्ने, यस विषयमा ५ गाउँपालिकाका प्रमुख तथा प्रशासकिय अधिकृतहरूको संयुक्त छलफल पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको रोहबरमा भयो । छलफलमा प्रजिअ भट्टराईले बढी कबुल गरेका निमिया माई निर्माण सेवासँग सम्झौता गर्न आदेश दिँदा पनि जिल्ला प्रशासन कार्यालयको आदेशलाई धज्जी उडाउँदै गाउँपालिका प्रमुख र प्रशासकीय अधिकृतले लाखाैं भ्रष्टचार गरेको साहले खुलासा गरे । 

प्रतिक्रिया दिनुहोस्