नेता नेपालको निसानामा प्रधानमन्त्री ओली



काठमाडौं : सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कुनै व्यक्तिको अलौकिक र चमत्कारी नेतृत्वमा विश्वस गर्न नसकिने बताएका छन् ।

बुधबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवसको अवसरमा जारी वक्तव्यमा नेता नेपालले सो कुराको उल्लेख गरेका हुन् । साथै उनले नेकपा सामूहिक नेतृत्वमा विश्वास गर्ने संस्था भएको बताएका छन् ।

केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउने प्रयास गरेपछि नेकपाभित्र उत्पन्न विवाद साम्य नभएका बेला नेता नेपालले कम्युनिष्ट पार्टी विभाजनको विगत पनि सम्झिएका छन् ।

अर्काको अस्तित्व स्वीकार नगर्ने र म नै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दैन भन्ने भावनाले कम्युनिष्ट आन्दोलनलाई हिजो विभाजनबाट थिलोथिलो बनाएको कुरा स्मरण गर्दै नेता नेपालले भने–‘आज पनि कहीँ कतै त्यस्ता गलत, व्यक्तिवादी र गैरकम्युनिस्ट प्रवृतिहरू देखा पर्छन् भने त्यसकाविरुद्ध दृढतापूर्व उभिनु सबै इमान्दार नेता–कार्यकर्ताको कर्तव्य हुन्छ ।’

नेता नेपालले पुष्पलाल स्मृति प्रतिष्ठानको अध्यक्षको हैसियतले ४२ औँ पुष्पलाल स्मृति दिवसका अवसरमा वक्तव्य जारी गरेका हुन् ।

वक्तव्यको अधिकांश अंशमा नेता पुष्पलालको योगदानको चर्चा गरिएको छ । तर, पुछारमा नेता नेपालले पार्टीभित्रको एउटा खेमाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरेर प्रयोग गर्दै आएका शब्दहरू उल्लेख गरेका छन् ।

‘अर्काको अस्तित्व स्वीकार नगर्ने’, ’म नै सर्वेसर्वा हुँ’, ’म नभए केही पनि चल्दैन’, ’व्यक्तिको अलौकिक वा चमत्कारी नेतृत्व’ जस्ता पदावलीहरू प्रधानमन्त्री ओलीमाथि पार्टीभित्रैबाट समेत आरोप लगाउँदा प्रयोग हुने गरेका छन् ।

त्यस्तै आरोपहरूकाबीच ओलीविरुद्ध नेता नेपालका साथै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का वरिष्ठ नेता झलनाथ खनाल लगायतको गठबन्धन बनेको छ ।

प्रकाशित : साउन ७, २०७७

प्रतिक्रिया दिनुहोस्