१ अर्ब ३० करोड लगानीमा ५१ वटा प्रहरी भवन बन्ने 



विराटनगर : प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको सहित विभिन्न ५१ वटा प्रहरी भवन बन्ने भएका छन् । प्रदेश सरकारको विनियोजन गर्ने १ अर्ब ३० करोडमा प्रदेशको १४ जिल्लामा ५१ वटा प्रहरी युनिटका भवन बन्ने भएको हो । प्रदेश सरकारको बहुवर्षीय बजेट अनुसार १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको सुविधा सम्पन्न कार्यालय भवनको शिलान्यास गरिएको छ ।

आर्थिक वर्ष ०७५–०७६  मा ५ करोड बजेट बिनियोजित भई सम्झौता भएको मितिले २ वर्ष भित्रमा अत्याधुनिक सुविधा सम्पन्न भवन निमार्ण हुने भएको हो ।  १६ हजार १ सय २१ स्क्वायर फिटमा ५ तले सुविधा युक्त कार्यालय भवन निर्माण सम्पन्न भएको छ ।  सो भवनको शिलन्यास प्रदेशका मुख्यमन्त्री शेरधन राईले गरे । मुख्यमन्त्री राईले शिलालेख अनावरण गरी विधिवत रुपमा शिलान्यास गरेका हुन् ।

प्रदेश प्रहरीको नयाँ बन्ने भवन अत्याधुनिक र प्रविधी मैत्री बन्नेछ । पहिलो तलामा १८ वटा कोठा भएको २ वटा कन्फरेन्स हल, सिसीटिभी सहितको प्रहरी परिचालन कक्ष रहनेछ । त्यस्तै दोस्रो तलामा ३० वटा कोठा, प्रदेश प्रहरी प्रमुखको कार्यकक्ष, मिटिङ्ग हल, महाशाका शाखा रहनेछ । यसैगरी तेस्रो तलामा २० वटा कोठाहरूमा महाशाखा, शाखा प्रमुखहरूको कार्यकक्ष रहनेछ भने चौथो तलामा १६ वटा कोठा र पाँचौ तलामा १३ वटा कोठाहरू रहनेछ ।

सोही अवसरमा प्रदेश सरकारबाट प्रदेश प्रहरीलाई उपलब्ध गराएको १५ वटा चार पाङग्रे गाडी र २ सय वटा मोटरसाइकल पनि प्रदान गरियो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले सुरक्षा अवस्था मजबुत नभएसम्म विकास निर्माणलाई अगाडि बढाउन नसकिने बताए । उनले प्रदेश सरकारले पहिलो प्राथामिकतामा सुरक्षा र सुशासनलाई प्राथामिकता राखेर काम अघि बढाएको बताए । ‘सुरक्षा ब्यवस्था मजबुत नभएसम्म आम नागरीकले सुरक्षा प्रत्याभुति गर्न सक्दैनन्’, मुख्यमन्त्री राईले भने, ‘सुरक्षाको प्रत्यक्ष अनुभूती पाउने गरी नागरीक मैत्री सुरक्षा व्यवस्थालाई अवलम्बन गरिएको छ ।’

कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतबहादुर कार्कीले सुरक्षा व्यवस्था मजवुत भएमा मात्र समृद्धीतर्फ अघि बढ्न सकिने बताए । १ नम्बर प्रदेशका सभामुख प्रदिपकुमार भण्डारीले आम नागरीकको सुरक्षामा २४ सै घण्टा तल्लिन रहने प्रहरीलाई भौतिक रुपमा सुविधा सम्पन्न बनाउनुपर्नेमा जोड दिए । 

प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले जहाँ सुरक्षित वातावरण छ त्यहाँ विकासका कामहरु धमाधम हुने हुँदा कुनै पनि अवैध किसिमका क्रियाकलापहरु क्षम्य नहुने बताए । उनले प्रहरीलाई सुबिधा सम्पन्न बनाउने प्रदेश सरकारको नीतिलाई शिरोपर गर्दै सुबिधा सम्पन्न भवन निर्माणले प्रहरी कर्मचारिमा काम गर्ने थप हौसला प्रदान गर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्