राप्रपाको मेची महाकाली स्वाभिमान यात्रा काठमाडौंमा समापन हुँदै, यस्तो छ कार्यक्रमको तालिका



काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीले आज उपत्यकामा कलशयात्राका साथै आमसभा गर्ने भएको छ । राप्रपाले फागुन १५ गतेदेखि ताप्लेजुङबाट सुरु गरेको ‘मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’को समापन आज काठमाडौंस्थित भृकुटीमण्डपमा गर्दैछ । 

राप्रपा अध्यक्ष कमल थापा संयोजकत्वको मेची महाकाली यात्राको टोली बुधबार पोखराबाट काठमाडौं फर्किएको थियो । यात्राका क्रममा ३७ जिल्लामा २ हजार ८ सय १० किलोमिटर यात्रा गरेको र साना ठूला गरी १ सय ५२ सभा भएको राप्रपाले जनाएको छ ।

फागुन ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे मागपत्र बुझाएर राप्रपाले आन्दोलनको कार्यक्रम सुरु गरेको थियो । हिन्दू राष्ट्र पुनस्र्थापना हुनुपर्ने, २०४७ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्नुपर्नेलगायतका राप्रपाका माग छन्।  आज राप्रपा अध्यक्ष थापाले समापन सभालाई सम्बोधन गर्ने छन्।

अपरान्ह १२ बजे भृकुटीमण्डपमा राप्रपाको कार्यक्रम समापन हुने गरी पार्टीले समय तालिका र रुट सार्वजनिक गरेको छ । बिहान ७ः३० बजे ललितपुरबाट यात्रा सुरु भएको छ । ललितपुरबाट सुरु भएको यात्रा भक्तपुर गएको छ । भक्तपुरबाट काठमाडौंका विभिन्न स्थल हुँदै डिल्लीबजार पुग्ने राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

उनका अनुसार त्यहाँबाट कलशयात्रा भृकुटीमण्डपमा पुग्नेछ । राप्रपाले स्वाविमान यात्राका क्रममा सडक अवरुद्ध हुनसक्ने भन्दै वैकल्पिक मार्गबाट यात्रा गर्न आग्रह गरेको छ । ‘यात्रा सञ्चालन हुने रुटहरुमा केही समय सवारी आवागमनमा असुविधा उत्पन्न हुन सक्ने भएकाले क्षमा याचना गर्दै वैकल्पिक रुट प्रयोग गर्नु हुन आदरणीय उपत्यकावासी दाजुभाई तथा दिदिवहिनीमा राप्रपा सादर अनुरोध गर्दछ,’ श्रेष्ठद्वारा भने ।

यात्राको रुट यस्तो हुनेछः 

बिहान ७ः ३० बजे जावलाखेलबाट कुमारीपाटी–लगनखेल–सातदोबाटो–ग्वार्को– कोटेश्वर–जडिबुटी – लोकन्थली – गठ्ठाघर – पुरानोबाटो गठ्ठाघर व्यारेक – पुरानो ठिमी–सल्लाघारी – नगरकोट जाने बाटो हुँदै व्यासी – कमलविनायक – च्यामासिंह – जगाती–सुर्यपविनायक चोक – सल्लाघारी – नयाँठिमी – गठ्ठाघर – लोकन्थली – जडिबुटी – कोटेश्वर–तिनकुने– सिनामंगल – पुरानोवानेश्वर – मैतीदेवी– डिल्लीबजार–पुतलीसडक–बागबजार–रत्नपार्क–विद्युत प्राधिकरण हुँदै प्रदर्शनीमार्ग, भृकुटीमण्डप ।

 

प्रतिक्रिया दिनुहोस्