कर्णालीमा विप्लवकाे कार्यकर्ताबिनाको त्रास !



                                                                    विप्लव बन्दका कारण बिहीबार जुम्लामा परिचालन गरिएका सेना

सुर्खेत : बिहीबार देशका विभिन्न ठाउँमा नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहले बम पड्काउने लगायत क्रियाकलाप गरिरहँदा विप्लवको अखडा ‘कर्णाली’ भने शान्त नै रह्यो। यातायात, शैक्षिक तथा निजी संस्था बन्द हुनेबाहेक अन्य कुनै ठूलो घटना हुन पाएन। 

तर पनि कर्णालीका नागरिकमा त्रास फैलिएको छ। विप्लव समूहले केन्द्र्र मानेको कर्णालीमा १० बर्से द्वन्द्वको त्रासले हिजो दिनभर छोइरह्यो।  सशस्त्र द्वन्द्वकालमा सबैभन्दा धेरै क्षति बेहोरेको कर्णालीले पुनः विप्लव समूहको त्रास खेप्दा यहाँका आमजनता चिन्तित भए। पूर्वमन्त्री तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायत दर्जनौं केन्द्रीय नेताहरुको पकट रहेको कर्णालीमा विप्लवको गतिविधिबाट स्थानीय तह बढी चिन्तित भएका छन्। 

बिहीबारको नेपाल बन्दमा मगुका चार स्थानीय निकायका एक सय ४१ विद्यालयमा चलिरहेको परीक्षा प्रभावित भयो। यस्तै आन्तरिक तथा बाह्य यातायातसमेत बन्द भएको थियो। पूर्ण रूपमा विद्यालय बन्द गर्न धम्की दिएपछि सोरु, मुगुम कार्मारोङ, र छायानाथ रारा नगरपालिकामा रहेका विद्यालयहरुमा परीक्षा सञ्चालन हुन नसकेको शिक्षा विकास तथा समन्वय इकाई मुगुका प्रमुख सूर्यबहादुर खत्रीले बताए।

यस्तै स्थानीय सरकारलाई प्रतिबन्ध लगाउने विप्लवको घोषणासँगै कर्णालीका दुर्गम क्षेत्रका जनप्रतिनिधिले सरकासँग सुरक्षाको मागसमेत गरेका छन्। सडकका पेटी, भित्ता तथा ढुंगाहरुमा आफ्नो पार्टीका नारासमेत लेख्दै प्रचार सुरु गरेको नेकपाका विभिन्न गतिविधिका कारण कर्णालीबासीहरु पुनः द्वन्द्व निम्तिने भन्दै त्रसित बनेका छन्। 

प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले ग्रामीण क्षेत्रमा विप्लव समूहदेखि त्रास रहे पनि बिहीबारको बन्दमा भने कुनै ठूलो घटना नभएको बताए। बन्दको पूर्वसन्ध्यामा सल्यानमा भने बुधबार साँझ नै एक जना विप्लव समूहका कार्यकर्ता पक्राउ परेका छन्।

यस्तै तीन दिनअघि डोल्पामा पनि दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो। प्रदेश प्रहरी प्रवक्ता तिम्सिनाले नागरिकको सुरक्षाका लागि प्रहरी हरबखत तयार रहेकाले त्रासमा नबस्न नागरिकलाई अनुरोध गरेका छन्। 

नेकपानिकट युवा संगठन नेपालका केन्द्र्रीय सदस्य शीतल विष्टले कर्णालीमा नेपाल बन्द पूर्ण रूपमा सफल भएको दाबी गरेका छन्। उनले भने, ‘सरकारले हाम्रो पार्टीमाथि प्रतिबन्द लगाएर मुठभेडको स्थिति सिर्जना गरेको छ, हामीलाई द्वन्द्व निम्त्याउन रहर थिएन तर अब भने सरकारका हरेक गतिविधिविरुद्ध पार्टी सक्रिय भएर लाग्छ।’ 

प्रतिक्रिया दिनुहोस्