सम्झौता अनुसार रकम उपलब्ध नभएपछि किसानहरु आक्रोशित



जनकपुरधाम : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख एवं शाखा अधिकृतले धनुषाका माछा किसानलाई नयाँ मत्स्य पोखरी निर्माण कार्यक्रमअन्तर्गत सम्झौता गरेर रकम उपलब्ध नगराएपछि उनीहरु आक्रोशित भएका छन् ।

नयाँ मत्स्य पोखरी निर्माण कार्यक्रमअन्तर्गत माछा जोनसँग भएको सम्झौता अनुसार आफूहरु पटकपटक ठगिँदै आएको जनकपुरधाममा पत्रकार सम्मेलन गरी माछा किसानहरुले आरोप लगाएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२० का माछा किसान रन्जित साहले आफुले ३७ कट्टामा पोखरी खनाएको बताउँदै जोनको सम्झौता अनुसार आफूलाई ३ लाख ७० हजार दिनुपर्नेमा विभिन्न बहाना देखाई अहिलेसम्म एक रुपैयाँ पनि नदिएको गुनासो पोखेका छन् ।

उनले भने,‘सम्झौता अनुसार म्याद भित्र पोखरीको सबै कार्य सम्पन्न भएको छ । तर रकम माग्दा रकम अर्को आर्थिक वर्षमा उपलब्ध गराउने भन्दैछन ।’

सुपर माछा जोनका प्रमुख युगल किशोर तिवारी र शाखा अधिकृत दीपक कुमार मिश्रले आफ्नो नातागोताका किसानहरुलाई मात्र रकम उपलब्ध गराई बाँकी रकम अनियमितता गर्ने गरेको उनले आरोप समेत लगाएका छन् । धनुषाका ५० जना बढी माछा किसानहरु उनीहरुबाट पीडित रहेको उनले बताए ।

आफूहरुसँग भएको सम्झौता अनुसार रकम उपलब्ध नगराए जिल्ला प्रशासन कार्यालय र भूमी सुधार मन्त्रालयमा ज्ञापनपत्र बुझाउने र त्यसपछि अदालती प्रक्रियामा जाने साहले बताए । त्यस्तै विदेह नगरपालिका–९ का अर्का माछा किसान समिम नदाफले आफूले २४ कट्टामा पोखरी खनाएको बताउँदै सम्झौता अनुसार पाउनुपर्ने २ लाख ४० हजार मध्ये १ लाख ६ हजार मात्र पाएको बताए ।

पत्रकार सम्मेलनमा आधा दर्जनको संख्यामा पीडित किसानहरु आएका थिए । उनीहरुले सुपर माछा जोनको करणी र कथनीमा अन्तर भएकोले बाध्य भएर यस्तो कदम चाल्न लागेको बताए ।

प्रकाशित : साउन ८, २०७७

प्रतिक्रिया दिनुहोस्