साउदी अरबले भन्यो– ‘खसोग्गी हत्याको अन्तर्राष्ट्रिय छानबिन सम्भव छैन’



जेनेभा, एएफपी : प्रसिद्ध पत्रकार जमल खसोग्गी हत्या प्रकरणको अन्तराष्ट्रिय स्वतन्त्र छानबिनको प्रस्ताव साउदी अरबलाई मान्य नभएको रियादले बिहीबार पुनः दोहो-याएको छ।अपराधीलाई कानुनी दायरामा ल्याउन अनुसन्धानका लागि आवश्यक पर्ने सबै उपकरण आफ्नो मुलुकसँग भएको उसले दाबी गरेको छ। 

जेनेभास्थित राष्ट्रसंघीय मानवअधिकार परिषद्को बैठकमा साउदी प्रतिनिधिमण्डलका प्रमुख बन्दार अल–ऐवानले भने, ‘अनुसन्धानका लागि हस्तक्षेपकारी अन्तर्राष्ट्रिय भूमिकाको मागले साउदी अरबको आन्तरिक मामिलामा हस्तक्षेप हुने र यसमा साउदी अरब सहमत हुन सम्भव छैन।

साउदी अरबसँग यो जघन्य अपराधलाई कानूनी दायरामा ल्याउने सबै उपायको प्रयोग गरी घटनाको अनुसन्धान गरिरहेको छ,’ अल–ऐवानले परिषद् बैठकमा बताए।  ऐवान मानवअधिकार उ्रल्लघंनबारे साउदी अरबको मूल्याकंन गर्न जेनेभा गएका हुन्। जहाँ साउदी अरबमाथि खसोग्गी प्रकरणलगायत मानवअधिकार उल्लघंनका आरोप विश्वका धेरै मुलुकका प्रतिनिधिले लगाएका थिए। 

गत हप्ता विश्वका ३६ राष्ट्रले संयुक्त विज्ञप्ति जारी गरी खसोग्गीको हत्यारालाई कानुनी कठघरामा उभ्याई पीडित परिवारलाई न्याय दिलाउन गरिएको आह्वानप्रति प्रतिक्रिया दिँदै साउदी अरबको उक्त भनाइ आएको हो। 

वासिङ्टन पोस्टका स्तम्भकार खसोग्गी पूर्वपत्नीसँग भएको सम्बन्धविच्छेदको प्रमाणित कागजात बनाउन टर्कीको इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा गएकै बेला तीन साताअघि हत्या भएको थियो। उनको हत्यामा साउदीको शक्तिशाली राजपरिवारकै निर्देशन रहेको भन्दै विश्वभरबाट रियादको आलोचना भइरहेको छ। आलोचना बढेपछि विश्वकै प्रमुख तेल निर्यात राष्ट्र साउदी अरब अहिले संकट फसेको छ। 

खसोग्गीकी प्रेमिकाले उनी बेपत्ता भएको सार्वजनिक गरेकी थिइ्रन्। खसोग्गी बेपत्ता भएको विषय बाहिरिएपछि टर्कीले साउदीको वाणिज्य दूतावासमै उनको हत्या भएको र त्यसबारे आफूसँग प्रमाण रहेको बताएको थियो। 

टर्र्कलगायत देशले खसोग्गीको हत्यामा साउदी सरकारकै संलग्नता रहेको बताए पनि सुरुमा रियादले सो आरोप अस्वीकार गरेको थियो। पछि, उसले खसोग्गीको वाणिज्य दूतावासभित्र भएको झगडाका क्रममा मृत्यु भएको र त्यसमा आफ्ना खराब एजेन्टहरु दोषी रहेको आरोप लगाएको थियो। 

यद्यपि उसले विभिन्न अन्तर्राष्ट्रिय समाचारमाध्यममा भनिएजस्तो साउदीका शक्तिशाली युवराज मोहम्मद बिन सलमानको आदेशमा खसोग्गीको हत्या भएको भन्ने विवरणलाई भने अस्वीकार गर्दै आइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्