न्यूजिल्यान्डका दुई मस्जिदमा आक्रमण, ४० को मृत्यु, बङ्गलादेशी क्रिकेट टोली जोगियो



एजेन्सी : न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा ४० जनाको मृत्यु भएको छ । घटनामा २० भन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

अल नूर र एक अर्को मस्जिदमा गोलाबारी भएको बताइएको छ । प्रत्यक्षदर्शीले गोलाबारीपछि अल नूर मस्जिदमा रक्ताम्य भएर धेरै जना भुइँमा लडेको देखेको बताएका छन् ।

त्यहाँको सरकारले अर्को सूचना जारी नभएसम्म सर्वसाधारणलाई मस्जिदमा नजान आग्रह गरेको छ । 

घटनामा कति आक्रमणकारी थिए भन्ने कुरा स्पष्ट भइसकेको छैन । प्रहरी अधिकारी माइक बुसका अनुसार  गोलाबारी गर्ने एकसहित चार जनालाई हिरासतमा लिइएको छ । घटनामा अन्य व्यक्ति संलग्न भए वा नभएको स्पष्ट नभएको उनले बताएका छन् ।

यसैबीच, राष्ट्रको नाममा सम्बोधन गर्दै न्यूजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डर्नले अहिलेसम्म स्थिति स्पष्ट नभएको बताएकी छन् । 

बङ्गलादेशी क्रिकेट टोली जोगियो

आक्रमण हुँदा बङ्गलादेशी क्रिकेट टोलीका सदस्य अल नूर मस्जिदमा थिए । बङ्गलादेशी टेस्ट क्रिकेट टोलीका कप्तान मुस्फिकर रहिमले आफू सो आक्रमणबाट जोगिएको भन्दै ट्विट गरेका छन् ।

बङ्गलादेशी क्रिकेट बोर्डले टोलीका सबै जना सुरक्षित रूपमा होटल फर्किसकेको र आफ्नो सम्पर्कमा रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्