क्रिकेटर श्रीसान्तमाथि लागेको आजीवन प्रतिबन्ध हट्यो, खेल्लान् त आउँदो विश्वकप ?



नयाँ दिल्ली : भारतको सर्वोच्च अदालतले क्रिकेटर श्रीसान्तमाथि लागेको आजीवन प्रतिबन्ध हटाएको छ । सर्वोच्चका न्यायाधीश अशोक भूषण र केएम जोसेफको इजलासले बीसीसीआईको अनुशासन समितिलाई तीन महिनाभित्र श्रीसान्तको सजाय पुनर्विचार गर्न भनेको छ । 

साथै अदालतको आदेशमा सजायको समय तय गर्दा श्रीसान्तको कुरा पनि सुन्न भनिएको छ । 

सर्वोच्च अदालतले शुक्रबार म्याच फिक्सिङ मामिलामा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)को अनुशासन समितिले उनीमाथि लगाएको प्रतिबन्ध हटाएको हो । 

यसअघि केरला उच्च अदालतले आफूमाथिको प्रतिबन्धलाई कायमै राखेपछि श्रीसान्त सर्वोच्च अदालत गएका थिए । सन् २०१३ को आइपिएलमा ‘स्पट फिक्सिङ’मा संलग्न भएको आरोपमा श्रीसान्तमाथि प्रतिबन्ध लागेको थियो । सो समयमा उनलाई पक्राउ गरिएपनि आरोप प्रमाणित नभएपछि उनी रिहा भएका थिए ।

फैसलापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै श्रीसान्तले आफूलाई राहत मिलेको र छिट्टै क्रिकेट मैदान फर्किन चाहेको बताएका छन् । अब आफ्नो सपना यही वर्ष आयोजना हुने एकदिवशीय विश्वकपमा भारतका लागि खेल्नु रहेको बताए । 

यो लगभग पुरा नहुने भए पनि असम्भव भने नरहेको उनको प्रतिक्रिया छ । उनले आफूले आउँदो विश्वकप खेल्न पाए त्यो चमत्कारभन्दा कम नहुने र आफूलाई चमत्कारमा विश्वास लाग्ने पनि बताए । 

अदालतले आजीवन प्रतिबन्ध फुकुवा गरिदिए पनि श्रीसान्तले तत्कालै क्रिकेट खेल्न भने पाउने छैनन् । किनकि, उनको प्रतिबन्ध कहिले फुकुवा गर्ने भर्ने निर्णयको अधिकार बीसीसीआईलाई छ । 

अदालतको फैसला लगत्तै बीसीसीआईले पनि प्रतिक्रिया जनाएको छ । सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै आगामी बैठकमा श्रीसान्तको विषयमा छलफल गर्ने उसले जनाएको हो । 

श्रीसान्त भारतले सन् २००७ को टि–ट्वान्टी विश्वकप र सन् २०११ को एकदिवशीय विश्वकप जित्ने टोलीको सदस्य थिए । उनले भारतका लागि २७ टेस्ट म्याचमा ८७ र ५३ एकदिवशीयमा ७५ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्