अन्तरप्रदेश मुख्यमन्त्री कप : दर्शक नआउँदा उद्घाटन समारोहमा नेता मात्रै !



कैलाली : धनगढीमा जारी अन्तर प्रदेश मुख्यमन्त्री कपको शुक्रबार औपचारिक उद्घाटन गरिएको छ । सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयको आयोजनामा  फागुन २९ देखि चैत ३ गतेसम्म सञ्चालन हुने सो  प्रतियोगिताको संघीय संसदका सभामुख कृष्णबहादुर महराले उद्द्घाटन गरेका हुन् ।

२९ गतेदेखि सुरु भएको खेलमा दर्शकको उपस्थिति न्यून थियो नै, औपचारिक उद्घाटन कार्यक्रममा पनि दर्शकको उपस्थिति बढेन ।  

बढ्दो गर्मीलाई मध्यनजर गरी धनगढी कभर्डहलको प्याराफिटको सबैभन्दा माथिल्लो भागमा नेताहरू बस्न र भाषण गर्नका लागि मञ्च बनाइएको थियो । प्याराफिटको माथिल्लो भागमा बनाएको मञ्चमा नेताहरूले गरेको भाषण क्यामेरामा कैद गर्न सञ्चारकर्मीलाई हम्मे हम्मे परेको थियो ।  

उद्घाटन कार्यक्रममा सातै प्रदेशका मुख्यमन्त्रीसहित सबै प्रदेशका मन्त्री तथा सासंद बाेलाइएका थिए । त्यस्तै सुदूरपश्चिम प्रदेशको सिङ्गो मन्त्रिमण्डल उपस्थित थियो भने धेरैजसो प्रदेश सांसदको उपस्थिति थियो । 

सबै नेताहरूले प्याराफिटको माथिल्लो भागबाट भाषण गर्दा मैदानमा बसेर भाषण सुन्ने भने अत्यन्तै न्यून थिए । मैदानमा नेताका सुरक्षा गार्ड र आसेपासेले मात्रै थिए । 

हरेक प्रदेशबाट ९२ जना खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी कुल ६ सय ४४ जना सहभागी हुने भनिएको प्रतियोगिताको उद्घाटन सत्रमा भने अतिथि र न्यूनमा खेलाडीहरू मात्रै सहभागी भए ।

प्रतियोगितामा पुरुष फुटबल, पुरुष भलिबल, महिला भलिबल, पुरुष क्रिकेट, महिला क्रिकेट र ब्याडमिन्टन पुरुष र  महिला गरी चार खेलहरू खेलाइएको छ । 

फुटबल र क्रिकेटका खेलहरू लिगकम नकआउट प्रणालीबाट सञ्चालन गरिने छ । 

प्रतियोगितामा सर्वाधिक स्वर्ण पदकका साथ प्रथम हुने प्रदेशलाई १५ लाख, द्वितीय प्रदेशलाई ८ लाख तथा तृतीय हुने प्रदेशलाई ५ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्