सभामुख भन्छन् : सङ्घीयता कार्यान्वयनमा उपलब्धि



कैलाली : सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महराले सङ्घीयता कार्यान्यनमा उपलब्धि प्राप्त गरेको बताएका छन् । सुदूरपश्चिम प्रदेशसरकारले धनगढीमा आयोजना गरेको प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता उद्घाटन कार्यक्रममा सभामुख महराले सङ्घीयता कार्यान्यनमा बाधा पुर्‍याउने १ सय ६५ कानुन परिमार्जन गरिएको पनि बताए । 

सङ्घीयता कार्यान्यन भए पनि सो अनुरूपको काम गर्न भने अझै बाँकी रहेको उनको भनाइ छ । उनले केन्द्रले नीतिगत काम गर्न ढिलाइ गर्दा प्रदेश र स्थानीय तहमा देखिएको अन्यौलता चाँडै अन्त्य हुने दाबी गरे । 

अर्को प्रसङ्गमा सभामुख महराले खेलकुदलाई मौलिक हकको रूपमा स्विकार्नु पर्ने बताएका छन् । खेलकुदलाई मनोञ्जनको साधनको रूपमा मात्रै लिन नहुने उनको भनाइ छ ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताका अपेक्षा धेरै भएकाले प्रदेश सरकारले सोचेअनुरुप काम गर्न नसकेको जस्तो देखिएको बताए । कानुन निर्माणमा ढिलाइ हँुदा प्रदेश सरकारले गति लिन नसकेको उनीहरूको भनाई छ । 

प्रतियोगिता उद्घाटन कार्यक्रम सुरु हुनु पहिले धनगढीको ट्राफिक चौराहादेखि धनगढी रङ्गशालासम्म सुदूरपश्चिमका मौलिक संस्कृति झल्किने झाँकीसहित प्रभात फेरि आयोजना गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्