च्याम्पियन्स लिग : क्वाटरफाइनल ड्र सार्वजनिक, बार्सिलोनाकाे प्रतिद्वन्दी युनाइटेड



काठमाडौं : च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल ड्र सार्वजनिक भएको छ । युइएफएले शुक्रबार निकालेको ड्र मा स्पेनिस क्लब बार्सिलोनाले इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई प्रतिद्वन्दीका रुपमा पाएको छ । बार्सिलोनाले लियोन र युनाइटेडले पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएका थिए ।

यस्तै क्रिस्टियानो रोनाल्डोको टिम इटालियन क्लब युभेन्ट्सले क्वाटरफाइनलमा सहज प्रतिद्वन्दी नेदरल्याण्डको आयाक्स पाएको छ । आयाक्सले साविक विजेता रियल म्याड्रिडलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।  रियललाई लगातार ३ सिजन उपाधि दिलाएका रोनाल्डोले अब युभेन्ट्सबाट आयक्ससँग खेल्नेछन् । युभेन्टसले स्पेनिस क्लब एथ्लेटिको एटलेटिको म्यड्रिडलाई हराउँदै अन्तिम ८ मा स्थान बनाएको हो । 

साविक उपविजेता इङ्लिस क्लब लिभरपुलले पनि तुलनात्मक रुपमा सहज प्रतिद्वन्दी पोर्चुगिज क्लब पोर्टोलाई प्रतिद्वन्दी पाएको छ । अघिल्लो सिजनको फाइनलमा लिभरपुल रियल मड्रिडसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो । लिभरपुलले जर्मन क्लब बायर्न म्युनिख र पोर्टोले एएस रोमालाई हराएर अघिल्लो चरणमा प्रवेश गरेका हुन् । 

त्यस्तै अर्को खेलमा दुई इङ्लिस क्लब म्यानचेस्टर सिटी र टोटेनह्याम भिड्ने भएका छन् । दुवै टोलीले जर्मन प्रतिद्वन्द्वीलाई हराएका थिए । टोटेनह्यामले बोरुसिया डर्टमण्ड र सिटीले साल्केलाई पराजित गरेका थिए । क्वाटरफाइनलको पहिलो लेग अप्रिल ९/१० मा हुनेछ । यस्तै दोस्रो लेग १६/१७ अप्रिलमा हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्