व्यापार घाटा बढ्यो



काठमाडौ : चालू आर्थिक वर्षको सात महिनामा कूल वस्तु व्यापार घाटा २७ दशमलव एक प्रतिशतले वृद्धि भएको छ । व्यापार घाटा बढेर ७ खर्ब ८० अर्ब १७ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महिनाको विवरणमा व्यापार घाटा बढेको उल्लेख गरेको छ । सो अवधिमा कूल वस्तु आयात २६ प्रतिशतले बढेर ८ खर्ब ३३ अर्ब २७ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १८ दशमलव नौ प्रतिशतले बढेको थियो । आधारमा भारतबाट भएको आयात २४ दशमलव ८ प्रतिशत, चीनबाट ३६ दशमलव ६ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २३ दुई प्रतिशतले बढेको छ । पेट्रोलियम पदार्थ, एमएस बिलेट, हवाईजहाज तथा पार्टपुर्जा, तयारी पोशाक, अन्य मेशिनरी तथा पार्टपुर्जालगायतका वस्तुको आयात बढेको छ भने दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, सिमेन्ट, कच्चा भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजार, सुपारीलगायतका वस्तुको आयात घटेको छ । 

बैंकका अनुसार चालू आवको सात महीनामा कूल वस्तु निर्यात ११ दशमलव पाँच प्रतिशतले वृद्धि भई ५३ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२ दशमलव नौ प्रतिशतले वृद्धि भएको थियो । 

यस्तै भारततर्फ २१ दशमलव एक प्रतिशत र अन्य मुलुकतर्फ एक दशमलव चार प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ३१ दशमलव एक प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, दलहन, जडीबुटी, ऊनी गलैँचा, जुटका सामानलगायतका वस्तुको निर्यात बढेको छ भने अलैँची, छाला, रोजिन, जुत्ता तथा चप्पल, आयुर्वदिक औषधिलगायतका वस्तुको निर्यात घटेको छ । 

निर्याततर्फ रसुवा भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालयबाहेकका भन्सार नाकाबाट भएको निर्यातमा वृद्धि भएको छ । त्यसैगरी, कञ्चनपुर भन्सार कार्यालयबाट भएको आयात घटेको छ भने अन्य सबै नाकाबाट भएको आयातमा वृद्धि भएको छ । 

शोधान्तर स्थिति ४९ अर्ब घाटामा 

बैंकको विवरणअनुसार चालू आवको सात महीनामा शोधान्तर स्थिति ४९ अर्ब ३२ करोडले घाटामा रहेको छ । चालू खाता घाटा विस्तार भई एक खर्ब ६६ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा एक खर्ब ४२ अर्ब नौ करोड रहेको थियो । 

अमेरिकी डलरमा अघिल्लो वर्षको सात महीनामा एक अर्ब ३८ करोड रहेको चालू खाता घाटा समीक्षा अवधिमा एक अर्ब ४६ करोड पुगेको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति ४९ अर्ब ३२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १८ अर्ब २८ करोडले घाटामा थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको सात महिनासम्ममा १७ करोड ९१ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ४३ करोड ३० लाखले घाटामा रहेको छ । 

समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर सात अर्ब ४३ करोड र प्रत्यक्ष वैदेशिक लगानी पाँच अर्ब १५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर १० अर्ब ६४ करोड र प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ३४ करोड रहेको थियो । 

कूल विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा ११ खर्ब २ अर्ब ५९ करोड रहेकोमा गत माघ मसान्तमा घटेर १० खर्ब ७८ अर्ब ३६ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १० अर्ब ८ करोड रहेकोमा गत माघ मसान्तमा ९ अर्ब ४९ करोड रहेको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा ९ खर्ब ८९ अर्ब ४० करोड रहेकोमा गत माघ मसान्तमा ९ खर्ब ३७ अर्ब ३५ करोड रहेको छ । 

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा १ खर्ब ३ अर्ब १९ करोड रहेकोमा गत माघ मसान्तमा १ खर्ब ४१ अर्ब पुगेको छ । गत माघ मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको छ । 

प्रतिक्रिया दिनुहोस्