नेपालको प्रमुख प्रवेशद्वार वीरगञ्जमा १ सय १० फिटको अग्लोे फ्लाग टावर स्थापना



वीरगन्जः पर्सा क्षेत्र नं.१ का सांसद प्रदिप यादवले नेपालको प्रमुख प्रवेशद्वार वीरगञ्जको शंकराचार्य गेटको दक्षिण तर्फको मुख्य सडकमा स्थापना गरिएको नेपालको राष्ट्रिय ध्वज सहितको फ्लाग टावरको आज एक कार्यक्रमकाबीच उदघाटन गरेका छन् ।

उनले आफ्नो नीजी र संसदीय कोषबाट १३ लाख ६२ हजारको लागतमा मुख्य नाकामा १ सय १० फिट अग्लो लगाईएको राष्ट्रिय ध्वज सहितको फ्लाग टावरको उद्घाटन जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको उपस्थितीमा गरेका हुन् ।

भारतको रक्सौलबाट वीरगन्ज छिर्ने मुख्य नाका ईनर्वा स्थित शंकराचार्य प्रवेशद्धारकै दक्षिण तर्फ अगाडि १ सय १० फिट अग्लो फलामे टावर (पोल) निर्माण गरि त्यसमा ३० फिट लम्बाइ र १५ फिट चौडाइको नेपाली राष्ट्रिय झण्डा लगाइएको छ ।

भारतबाट नेपाल प्रवेश गर्ने देशकै मुख्य नाकामा नेपाल र नेपालीको पहिचान र शानको झल्को दिन नेपाली राष्ट्रिय झण्डा सहितको फ्लाग टावर निर्माण गरेको सांंसद यादवले बताए ।

उनले भने, ‘मधेसीको राष्ट्रियता प्रति देशकै केहि समुदायले बेला बेलामा आशंका गर्दै लान्छना लगाउँदै आएका छन् । तर आज सीमा नाकामै मधेसको एउटा सांसदले यति बिशाल अग्लो राष्ट्रिय झण्डा लगाएर मधेसीको राष्ट्रियता माथि शंका गर्नेहरुलाइ गतिलो जवाफ दिएको छ ।’

सीमा नाकामै लगाइएको नेपाली झण्डाले नेपाली र नेपालीको पहिचानलाइ अझ सशक्त बनाएको भन्दै उनले भने ,‘ यो झण्डाले हामी नेपालीको शान र गौरव अझ बढाएको छ । सांसद यादवले सीमानाकाको मितेरी पुल देखि वीरगन्ज भन्सार हुदै रजतजयन्ति चोक सम्मको जीर्ण सडक, यहि आर्थिक वर्षमा आफुले मर्मत सम्भार गरिदिने घोषणा पनि गरे ।

जनता समाजवादी पार्टी पर्साका अध्यक्ष राम नरेश प्रसाद यादवको अध्यक्षतामा भएको फ्लाग टावर उद्घाटन कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्की, प्रहरी उपरिक्षक गंगा पन्त, जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्मद अन्सारी, पार्टी पर्साका सचिव तबरेज अहमद, वीरगन्ज १६ की कार्यवाहक वडा अध्यक्ष सुनीता देवी लगायतको पनि उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्