मलमास धाेका दियाे, तिहार अगावै फूल फुले



काठमाडाैं : तिहार अगावै फूल फुलेपछि व्यवसायिक रुपमा फुल खेती गर्दै आएका कृषक मारमा परेका छन् । राजधानीसहित व्यवसायिक रुपमा फुलको खेती गर्दै आएका कृषकहरु यसबर्ष तिहार पर्व नै पछि परेकाले व्यवसायमा नोक्सानी बढ्ने बताउँछन् । 

 

तिहारलाई लक्षित गरी फुल उत्पादन गर्दै आएका अधिकांश पुष्प उद्योगहरुमा यतिबेला ढकमक्क फुल फुलिसकेका छन् । तर बजारमा त्यसको माग सुरु भईसकेको छैन । धादिङका व्यवसायीहरुले उत्पादन भएका फुल केही बजारमा पठाए पनि अधिकांश बोटमै खेर जाने अवस्थामा रहेको जनाएका छन् । 

 

मलमासका कारण यो वर्ष कार्तिकको अन्तिम साता मात्र तिहार परेपछि व्यवसायीहरु मारमा परेका हुन् । तिहारको समय मात्र नेपालमा अघिल्लो बर्ष करिब १ करोड रुपैयाँ बराबरको ३ लाख सयपत्री फुलको माला आयात गरिएको नेपाल फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । 

 

बोटमै उत्पादन खेर जाने भएपछि यस बर्षपनि सयपत्री फुलका लागि भारतको भर पर्नु पर्ने बाध्यता देखिएको छ । तिहारको समयमा नेपालमा १० लाख बढी माला आवश्यक पर्छ । यो दर हरेक बर्ष १५ प्रतिशतले बढ्ने एसोसिएसनको तथ्याङ्कले देखाएको छ ।

 

नेपालको ३५ जिल्लामा ६ सय ५० पुष्प फर्म तथा नर्सरीबाट १ सय १० हेक्टर क्षेत्रफलमा पुष्पको खेती हुँदै आएको छ । यो व्यवसायमा ४१ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्