उग्रतारा कि अप्सारा ? मनै लाेभ्याउने तस्बिर



डडेलधुरा : यात्राको लागी धनगढीबाट हिँडेको करिब ७ घण्टामा हामी डडेलधुराको सदरमुकाम पुग्यौं। पहाडी भेग सुरुवातीको पहिलो पर्यटकीय आर्कषण केन्द्र मानिने भासुभीरबाट केही अघि बुडको उकालोमा दिउँसोको खाना खाएर डडेलधुराकोे यात्रा अगाडि बढ्यो। 

बाटोमा सडक छेउछाउका मनोरम दृश्यसँगै वनपाखा रातै हुने गरी फुलेका गुराँस गाडीबाट हाम फालेर टिप्न जाउँ जाउँ लाग्थ्यो। सँगै यात्रामा रहेका साथीहरु गुुराँस देख्ने बित्तिकै जोडतोडका साथ कराउँदै हल्ला गर्थे। पहाडबाट गुराँसले सजिएर आएका गाडीहरु देख्दा आफू सवार गाडीलाई पनि त्यस्तै बनाउन मन लाग्थ्यो। बाटोमा पर्ने गुराँसे जस्तो ठाउँ र त्यसको छुट्टै सुन्दरताले यात्रामा थप ऊर्जा आयो।

कैलाली सिद्धिएपछि, डोटीको गैह्रा, तेलेको लेक हुँदै डडेलधुराको भात्तकाँडासम्मको बाटोमा गुराँस बेच्नेहरुको पनि लस्करै देखिन्थ्यो, सबै जना गुराँस किन्छौं भनेर ठूलोठूलो स्वरमा कराउँदासमेत ड्राइभरले एकोहोरो गाडी हुँइकाइरहे। 

त्यो दिन बल्ल हामी चार बजेतिर डडेलधुराको सदरमुकाम पुग्यौं। करिब ६ बजेतिर राइनो होटेलमा ओरिन्टेसन कक्षा सिध्याएर सबै जनालाई बस्न तीन वटा होटेलमा व्यवस्था भयो। सरहरुले गरेको व्यवस्थाअनुसार त्यो रातको बसाइँ हामी तुफानडाँडाको सनलाइट होटेलमा बस्यौं। तुफानडाँडाबाट बजारमुनिको हरियाली जंगलसँगै वरिपारिका गाउँहरुले मनै लोभ्याएको थियो।

विषयगत अध्ययन सिलसिलामा मंगलबार बिहानै धनगढीबाट डडेलधुरा हुँइकिएका हामी बुधबार बिहानै उग्रताराको दर्शन गर्ने कुरा सुन्नेबित्तिकै फुरुंग भएका थियौं। हलक्कै गर्मी चढेको धनगढीबाट डडेलधुरा पुगेका हामीलाई त्यहाँको चिसोले अलिकति पनि छोएन। हामीले अनुमान लगाइसकेका थियौं, डडेलधुराको यात्रा साँच्चै अविस्मरणीय हुनेछ।

मनमा अनेकौं उत्सुकता बोकेर हामी लाग्यौं उग्रतारा दर्शन गर्न। सुदूरपश्चिम प्रदेशकै ठूलो शक्तिपीठ मानिने उग्रतारा मन्दिर डडेलधुरा सदरमुकामदेखि चार किलोमिटर पश्चिमपट्टिको दूरीमा छ। मन्दिर दर्शन गर्न त्यहाँ पुगेका हामी साच्चै उग्रतारा परिसरबाट देखिने सुन्दरता तस्बिरमा कैद गर्न लाग्यौं।

आकर्षक मनोरम दृश्यसँगै मन्दिरको बनावट पनि उत्कृष्ट थियो। वरिपरि हरियाली, मन्दिर छेउको जंगलमा सरलक्क बढेका धुपी सल्लाका रूख, ठूलाठूला खुला फाँटसँगै दुबोले भरिएका चौर मन्दिर परिसरबाट देखिने दुश्यले साँच्चै मन एउटै प्रश्नले उत्तर मागिरह्यो उग्रतारा कि अप्सारा ? 

प्रतिक्रिया दिनुहोस्