सुन तस्करीकाे मुद्दामा मुछिएका डा. डेभिड एक कक्षामा भर्ना



काठमाडाैं : ४ हजार किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका डा. डेभिड भनिने छिरिङ वाङ्गेल घले कक्षा एकमा भर्ना भएका छन् । उनी केन्द्रीय कारागार जगन्नाथ देवलको कैदीबन्दी प्राथमिक विद्यालयको १ कक्षामा भर्ना भएको कारागारले जनाएको छ ।

 

 डा. डेभिड सुन तस्करीको आरोपमै पक्राउ परेका नेता भुजुङ गुरुङका साला हुन् । गत माघ पहिलो साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको तस्करीको साढे ३३ किलो सुन हराएपछि फागुन १८ गते शाक्यको हत्या भएको थियो ।

 

 पछिल्लो ५ वर्षको अवधिमा सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चुडामणी उप्रेतीसहित डा. डेभिड समूहले ४ टन सुन तस्करी गरेको रहस्योद्घाटन भएको थियो । यसभन्दा अघि ल्याप्चे हान्ने सुन तस्करीका अभियुक्त डा .डेभिडले सही हान्न समेत जानिसकेको जेलर वेदनिधि अधिकारीले बताए । 

 

केन्द्रीय कारागारभित्रै ३ वटा स्कूल छ । १२ कक्षासम्मको पढाई हुने बन्दी विकास मावि, त्यसैगरी जगन्नाथ देवल मावि कारागारभित्रै छन् । ४० वर्षीय डा. डेभिड पढ्ने प्राथमिक विद्यायलय पनि भित्रै छ । सुन काण्डका अभियुक्त उनले गत जेठ २० मा जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका थिए । उनलाई जेठ २८ मा केन्द्रीय कारागार काठमाडौं ल्याइएको थियो ।

 

 डा. डेभिडमाथि अहिले सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरिरहेको छ । उनीसँगै सुन तस्करीका मुख्य अभियुक्त गोरे समते केन्द्रीय कारागारको गोल घरभित्र छन् । उनीमाथि पनि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्