इंग्लिस प्रिमियर लिगमा आज अन्तिम दिनको खेल हुँदै



लन्डन : इंग्लिस प्रिमियर लिग (ईपीएल) सिजको आज अन्तिम दिनको खेल हुँदैछ । अन्तिम सबै १० खेल एकै समय हुनेछ र त्यो नेपाली समय अनुसार राति ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ । अहिलेसम्म लिभरपुलले लिग जित्ने र म्यानचेस्टर सिटी दोस्रो स्थानमा रहने निश्चित भइसकेको छ । यस्तै नरविच रेलिगेसनमा पर्ने पनि निश्चित भइसकेको छ ।

तर, युरोपेली फुटबलका लागि छनोट हुने र रेलिगेसनमा पर्ने थप दुई टिमको निर्णय हुन बाँकी छ र त्यो आइतबार पूरा हुनेछ । शीर्ष चार स्थानका लागि तीन टिमले संघर्ष गरिरहेका छन् । ती हुन्, चेल्सी, लेस्टर सिटी र म्यानचेस्टर युनाइटेड । यसमध्ये म्यानचेस्टर तेस्रो स्थानमा छ र उसले लेस्टर सिटीविरुद्ध कम्तीमा हार रोक्ने हो भने उसको भाग्य खुल्छ ।

एफएकप फाइनल पुगेको अर्को टिम चेल्सी लेस्टरको ठीक माथि छ । उसलाई खालि एक अंकको मात्र आवश्यकता छ । उसले उल्भ्सको भ्रमण गर्नेछ । अनि लेस्टरले च्याम्पियन्स लिग खेल्नका लागि म्यानचेस्टरलाई हराउनु पर्नेछ । यो नतिजाले लेस्टरको शीर्ष चार निश्चित हुनेछ । यदि उल्भ्सले चेल्सीलाई हराउन सक्यो भने उसको युरोपा लिग स्थान निश्चित हुनेछ ।

रेलिगेसनबाट बच्न तीन टिमले संघर्ष गरिरहेका छन्, बर्नमाउथ, वाटफोर्ड र एस्टन भिल्ला । भिल्ला गोल अन्तरमा रेलिगेसन क्षेत्रबाट ठीक माथि छ । उसले वेस्ट ह्यामको भ्रमण गर्नेछ । अंक तालिकाको १८ औं स्थानमा रहेको वाटफोर्डले एफएकप फाइनल खेल्ने आर्सनलको भ्रमण गर्नेछ । त्यस्तै १९ औं स्थानमा रहेको बर्नमाउथले एभरटनको सामना गर्नेछ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्