बालुवाटारको राजनीतिक रंगमञ्च : ‘भैंसी किने जुम्रा त्यसै आउँछन्’



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्षद्वयबीचमा मनभित्र जति तीतो भए पनि पछिल्लो पटक भएको बालुवाटार भेटघाटमा निकै रसिक कुराकानी भएको छ । कहिले ‘अध्यक्षद्वय मिले’ त ‘कहिले अध्यक्षद्वय फाटे’ भनेर प्रचार तथा आलोचना भइरहेका बखत पछिल्लो चरणमा अध्यक्षद्वयबीच मीठो संवाद भएको कुरा बाहिर आएको छ ।

संवादको क्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मन्द मस्कानसहित ‘प्रचण्ड जी ! मिल्नुपर्ने तपाईँ र म नै हो, अरुबारे कुरा छोड्नुस्, भैंसी किनेपछि जुम्रा त त्यसै आइहाल्छन् नि !’ भनेपछि बालुवाटार राजनीतिक रंगमञ्च तातो भएर आएको छ । त्यसपछि दुवै अध्यक्षका बीचमा केही समझदारीका कुरा भएको पनि देखिन्छ । शायद यसको परिणाम केही दिनभित्रै देखिने छ ।

उता शीर्ष नेता, उपनेता र अन्य नेता तथा कार्यकर्ताका बीचमा भने जुम्राको बहस निकै तीतो प्रतित भएको छ । आफूहरुको मानमर्दन भएको चर्चा निकै चलेको छ । कम्युनिष्ट पार्टीमा जनवादी केन्द्रीयताको अभ्यास हुने, सबैले विचार राख्न पाउने, विचारमा स्वतन्त्रता र कामकारवाहीमा एकरुपता तथा तल्लो तथा उपल्लो कमिटीमा रहने सजीव सम्बन्ध आदि विषयलाई लिएर टिकाटिप्पणी भइरहेको छ ।

कार्यकर्ता माझमा यो विषय हाँसोमजाकका रुपमा पनि चलिरहेको छ । कार्यकर्ताहरु जुम्राको पनि ‘क्याटेगोरी’ छुट्याउन थालेका छन् । उनीहरुका बीचमा भएको यस्तो क्याटेगोरीमा पहिले मालिक, त्यसपछि भैंसी र भैंसीका आङमा रहेका जुम्राहरुमा ढाडी (तीमध्ये सेता ढाडी र काला ढाडी), अन्यमा लिम (सेता र काला लिम) अनि अन्त्यमा लिखा रहेका छन् ।

प्रकाशित : साउन ११, २०७७

प्रतिक्रिया दिनुहोस्