कोरोनाबारे सचेत हुनुपर्ने आजको आवश्यक : डीआइजी सिंह



जनकपुरधाम : देश लकडाउन मुक्त भएपनि कोरोना संक्रमणको जोखिम कायमै रहेकोले विना मास्क घर बाहिर निस्कने व्यक्तिहरुलाई लक्षित गरि सावधानी अपनाउन आग्रह गर्दै प्रदेश प्रहरीले मास्क उपलब्ध गराएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज (आइतबार) जनकपुरमा कोरोनाभाइरसबारे सचेतना कार्यक्रमको आयोजना गरी विना मास्क बाहिर निस्कनेहरुलाई प्रदेश प्रहरीले मास्क वितरण गरेको हो ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र परिक्रमा सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा जनकपुरको भानूचोकमा मास्क उपलब्ध गराइएको छ । कार्यक्रममा बोल्दै प्रदेश २ का प्रहरी प्रमुख डीआइजी धिरज प्रताप सिंहले लकडाउन हटेपनि कोरोना भाइरसको संक्रमण कायमै रहेकोले सबैले यसलाई गम्भिरतापूर्वक लिनुपर्ने आवश्यकता रहेको बताउँदै सावधानी अपनाउन सबैसँग आग्रह गरे । विना मास्क घर बाहिर निस्कने मानिसलाई आगामी दिनमा कारवाही हुने उनले चेतावनी समेत दिए ।

उनले भने, ‘प्रदेश २ को राजविराज र वीरगञ्जमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिसकेको अवस्थामा पनि सर्वसाधारणले त्यसलाई वेवास्ता गर्दै आइरहेका छन् । यो अवस्था भोलीका दिनमा प्रदेशका अन्य ठाउँहरुमा पनि हुनसक्छ । त्यसैले सबैले सचेतना अपनाउनुपर्ने नितान्त आवश्यकता छ ।’

प्रदेश नम्बर २ मा हालसम्म रौतहट जिल्लामा १ हजार २ सय ५५, महोत्तरीमा ७ सय ५४, सर्लाहीमा ७ सय ७, धनुषामा ६ सय १९, सप्तरीमा ४ सय १७, पर्सामा २ सय ४५, सिरहामा २ सय १० र बारामा १ सय ६६ जना गरि कुल ४ हजार ३ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २ हजार ९ सय ३६ जना निको भएर आ–आफ्नो घर फर्किसकेका छन् भने पर्सामा ४, बारामा २, रौतहटमा २, महोत्तरीमा १ र सप्तरीमा १ जना गरि जम्मा १० जनाले आफ्नो ज्यान गुमाइसकेका छन् ।

प्रकाशित : साउन ११, २०७७

प्रतिक्रिया दिनुहोस्