सप्तकोशी नदी कटान बढ्दो, मर्मत सम्भार हुँदै



इनरुवा : सप्तकोशी नदीले बराहक्षेत्र नगरपालिका–६ ठाकुरबारीस्थित १० नम्बर नोज स्पर (बाँध) कटान गर्न थालेपछि मर्मत सम्भार कार्य तीब्र पारेको छ । कोशीमा पानीको बहाव घटबढ हुने क्रम जारी रहेकाले कमजोर बनेको स्पर १० को मर्मत सम्भार कार्य तीब्र पारेको हो । यसै हप्ता लगातार भएको वर्षाको कारण नदीमा बढेको पानीको बहावले स्परको करिव ३० मिटर भाग कटान गरेकाले मर्मत सम्भार कार्य थालेको जनाएको छ ।

आइतबारसम्मा सो क्षेत्रमा कोशीले कटान गरेको भागमा मर्मत सम्पन्न भएकाले त्यहाका स्थानीयबासिन्दाहरुमा बाढीको त्रास कम भएको हो । कोशीको पानीको सतह पाँच दिन अघि वर्षकै उच्च भएको र त्यसपछि लगातार ओरालो लागेकाले कटान भएको थियो । कटान भएको ठाउँमा थप कटान रोक्नका लागि विहारबाट आएका जलसंसाधनका अधिकारी तथा ठेक्कादारले कटान रोक्ने प्रयास स्वरुप मर्मत गरिएको हो ।

कटान भएका अन्य ठाउँमा समेत मर्मत सम्भारको कार्य तीब्र गतिमा भइरहेको र दैनिक २५०/३०० जना कामदारहरु काम गरिरहेको स्थानीय ठेक्कादार देवनारायण मेहताले बताए । मेहताका अनुसार कटान गरेको क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीय सरोकारवालाजरुले कटान रोक्नमा निगरानी गरेकाले तत्काल मर्मत गरेको बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालले बताए ।

खनालका अनुसार कोशीको पूर्वी किनारमा रहेको १० नम्बर नोज स्पारले बराहक्षेत्रको ठाकुरबारी बस्तीलाई जोखिम पाने भएकाले मर्मत गरि जोगाएको छ । उक्त बांध फुटेको खण्डमा चक्रघट्टी बजार लगायतका क्षेत्र पनि लैजानसक्ने भएकाले तत्काल कटान रोक्ने कार्य भईरहेको खनालले बताए ।

उनले कोशीले पछिल्लो केही वर्ष यता आफ्नो धार परिवर्तन गर्दै पूर्वी किनार कटान गर्न थालेकाले नियमित मर्मतको काम गरिरहनुपर्ने आवश्यकता औल्याए । जिल्लामा १२ वर्ष अघि १० नम्बर स्परबाट कोशी करिव ५/६ सय मिटर पश्चिम भएर बग्ने गरेको थियो । तर यो बर्ष तिव्र पानीको वेगका कारणले वहाव पूर्वी किनारामा ठोकिएको हुँदा कटान थालेको थियो । वराहक्षेत्र नगरपालिकाको ११ वटा वडा मध्ये वडा नं. ३, ४ र ५ बाहेक सबै वडा सप्तकोशी नदीको उच्च जोखिममा परेको प्रमुख खनालले बताए ।

सुनसरीको भाण्टाबारी कोशी व्यारेज देखि उत्तर बराहक्षेत्र सम्मका बांध मर्मत सम्भार गर्ने र कटान नियन्त्रण गर्ने मूख्य दायित्व भने भारत सरकारको रहेको खनालको भनाई छ । कोशी व्यारेज निर्माण गरेको बेला देखिको उक्त सम्झौता अनुसार भारत सरकारले बर्षेनी कटान रोक्ने प्रयास गरेपनि पूर्णरुपमा सफल हुन नसक्दा नेपाली भूभाग वर्षेनी कटान र डुवानमा पर्दै आएको खनालको गुनासो छ । रासस

प्रतिक्रिया दिनुहोस्