जिम्बाब्बेमा आँधीका कारण २४ को मृत्यु, दर्जनौं बेपत्ता 



एजेन्सी : जिम्बाब्बेको पूर्वी क्षेत्रमा आएको आँधीका कारण कम्तीमा २४ जनाको मृत्यु छ । शुक्रबार मोजाम्बिक नजिकै सीमा क्षेत्रमा आएको आँधीले १०० जनाभन्दा बढी व्यक्ति हराएका स्थानीय एक सांसदले बताए। आँधीका कारण हजारौँ मानिस प्रभावित भएका छन्।

आँधी प्रभावित क्षेत्रमा विद्युत् काटिएको छ भने पुलहरू बाढीले बगाएको छ। पूर्वी चिनामानि जिल्लाका सांसद जोसुवा साक्कोले एएफपीसँग भने, ‘अहिलेसम्मको जानकारीअनुसार २४ जनाको मृत्यु भएको र १ सय भन्दा बढी सम्पर्कमा आउनसकेका छैनन्।’

आँधी र आँधीपछि आएको बाढीका कारण २५ घरहरूको निशाना पनि भेट्न नसकिने गरी बगाएको बताइएको छ। बाढी, पहिरो र आँधीका कारण सयौँ घरमा क्षति पुगेको बताइएको छ। आँधीपूर्व गत हप्ता भएको अत्यधिक वर्षाका कारण मोजाम्बिकमा ६६ जनाको मृत्यु भएको र करिब १७ हजार मानिस विस्थापित भएका थिए।

प्रतिक्रिया दिनुहोस्