कामदार बनेर लिम्पियाधुरा पुग्दा



दार्चुला : अतिक्रमित नेपाली भूमि गुञ्जी, नावी, कुटी गाउँ हुँदै लिम्पियाधुरासम्म पुग्ने संयोग मिल्यो। मलाई कालापानी र लिपुलेक नेपालको हो भन्ने जानकारी पहिले नै थियो। लिम्पियाधुरासम्मै नेपाली भूमि हो, गुञ्जी, नावी र कुटी गाउँ पनि नेपालकै हुन् भन्नेमा अनभिज्ञ थिएँ। जब भारतले सन् २०१९ नोभेम्बरमा कालापानी क्षेत्र समेटेर नक्सा जारी गर्‍यो त्यसपछि विकसित घटनाक्रमका क्रममा नेपालका सीमाविद्ले पनि लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा सार्वजनिक गरे। तब मलाई गुञ्जी, नावी र कुटी पनि नेपाली गाउँ भएको थाहा भयो।

लिम्पियाधुरा क्षेत्रको मेरो यात्रा २०७४ असार २४ गते सुरु भयो। त्यही बिहानको कुरा हो, एक जना मेरा छिमेकी अंकलले भन्नुभयो, ‘पारि (भारतीय क्षेत्रमा) आर्मीको पट्रोल आएको छ। घरमा बस्नुभन्दा त अलिकति पैसा हुन्छ जाऊँ।’

म वैशाखमा कक्षा १२ को परीक्षा दिएपछि जेठ महिनाभर हिमाली क्षेत्रमा यार्सा संकलन गरी फर्किएर घरमा त्यत्तिकै बसिरहेको थिएँ। मेरो घर दार्चुला जिल्लाको व्यास गाउँपालिका–४ सुन्सेरा हिमाली क्षेत्रमा पर्छ। वैशाख–जेठमा यार्सा संकलन गरी बेचेको पैसाले वर्षभरिको घरखर्च त्यसबाटै धान्नुपर्छ। खाली समयमा पैसा आर्जन हुने भएकाले मैले भारतीय सेनासँग काममा जाने कुरामा समर्थन जनाएँ।

मेरो गाउँबाट हाम्रो टोली महाकाली नदीमाथिको तुइन चढेर भारतको घट्टेबगड पुग्यो। घट्टेबगडमा भारत–तिब्बत सीमा पुलिस (आईटीबीपी) र भारतीय सेनाको कुमाउ स्काउटको बटालियन थियो। हामी त्यही क्षेत्रको होटेलमा बास बस्यौं। दोस्रो दिन धार्चुलाबाट आर्मीको पट्रोल जाने गाडी ११ बजेतिर पुगे। कुमाउ रेजिमेन्टका दुईवटा पट्रोल आएका रहेछन्। एउटा कालापानी र लिपुलेक क्षेत्र जाने, अर्काे लिम्पियाधुरा क्षेत्र।

  ठेकेदारका मुन्छीले (मुन्छी भनेको ठेकेदारका कर्मचारी) हामी ११ जनाको नाम लेखे र बाटो खर्च एक–एक हजार भारु दिए। नेपाली भूमि अतिक्रमण गरी कालापानी, लिपुलेकमा बसेका भारतीय सेनालाई सघाउने मन त थिएन। तर, भदौ महिनामा आउने सुदूरपश्चिमकै ठूलो पर्व गौराका लागि रोजगारी गरेर खर्च जुटाउनु थियो। पट्रोलका लागि खाद्यान्न खच्चरहरूले लगेका थिए। भाडाकुँडा, केही हतियारमा प्रयोग हुने सामान, खाना पकाउने स्टोभ, मट्टीतेल आदि बोक्ने जिम्मा हाम्रो थियो।

आआफ्नो जिम्माका सामान बोकेर हाम्रो टोली घट्टेबगडबाट उत्तरी क्षेत्रतर्फ लाग्यो। त्यस क्षेत्रमा लिम्पियाधुरा क्षेत्र जोड्ने सडक काट्ने काम भइरहेको थियो। सडकमा काम गर्ने अधिकांश नेपाली नै थिए। चट्टानी क्षेत्र भएकाले चट्टान विस्फोट गर्न प्वाल पार्ने काम भइरहेको थियो। त्यस सडक निर्माणका क्रममा कैयौं नेपालीले ज्यान गुमाउनु परेको छ। त्यो समय भारतले सडक विस्तार गरी नसकेकाले उक्त क्षेत्रमा सबै नेपाली कामदारले भारतीय सेना र कैलाश यात्रीका सामान बोक्नेलगायत काम गरिरहेका देखिन्थे। विशेषगरी सीमा क्षेत्रमा बसोबास गर्ने दार्चुलाका नागरिकसहित जाजरकोट, कालीकोट, बाजुरालगायत जिल्लाबाट नेपालीहरू त्यस क्षेत्रमा विभिन्न रोजगारी गरिरहेका देखिन्थे।

वारिपारि चट्टानैचट्टान, बीचमा सलल बगेको महाकाली नदी। भारतीय सेनासँगै हाम्रो टोली अघि बढिरहेको थियो। बाटोमा मालपा क्षेत्र, छंकन हुँदै हाम्रो टोली घट्टेबगडबाट १२ किलोमिटर टाढा रहेको लामारी पुग्दा साँझको ५ बजिसकेको थियो। लामारी क्षेत्रमा आईटीबीपीको पोस्ट रहेछ। हाम्रो टोली एक रात त्यहीं बस्यो।

अर्को दिन बिहानै यात्रा सुरु भयो। असारको महिना, आकाशबाट पानी परिरहेकै थियो। पट्रोलको टोली पनि आफ्नै गतिमा हिँडिरहेको थियो। पाँच किलोमिटर अगाडि बुदी गाउँ पुग्यौं। त्यहाँ भारतीय सीमा सुरक्षा बल (एसएसबी) को क्याम्प पनि रहेछ। साथै कैलाश मानसरोवर यात्रीका लागि कुमाउ मण्डल विकास निगमका क्याम्प पनि राखिएका थिए। बुदी गाउँमा सौका समुदायको बसोबास रहेछ। गाउँको पसलमा नास्ता गरेर हामी अगाडि बढ्यौं।

अब तीन किलोमिटर उकाली चढ्नुपर्ने थियो। हामीले पिठ्यूँमा ३० किलो जतिको सामान बोकिरहेका थियौं। त्यस क्षेत्रमा भारतीय सुरक्षाकर्मी कोही तल झरिरहेका थिए, कोही माथि चढिरहेका। तीन किलोमिटर एक घण्टामा पार गरेपछि छियालेक पुग्यौं। त्यहाँ भारतीय सेनाको कुमाउ स्काउटको बटालियन रहेछ। आईटीबीपीको पनि पोस्ट थियो। सेनाको पट्रोल भएकाले सेनाकै बटालियनले हाम्रा लागि खानाको व्यवस्थापन गरेको रहेछ।

छियालेकबाट माथिको सीमा क्षेत्रमा भारतको ‘नोटिफाइड’ क्षेत्र सुरु हुन्छ। त्यस क्षेत्रमा प्रवेश गर्ने विदेशी नागरिकले बहुदेशीय यात्रा अनुमतिपत्र बनाउनुपर्ने हुन्छ। स्थानीयले भारतीय नागरिक भएको परिचयपत्र देखाउनुपर्ने रहेछ। सेनासँग गएकाले हामीलाई कुनै परिचयपत्रको आवश्यकता परेन।

छियालेकमा पाँच दिन विश्राम गर्नु थियो। हामी ११ कामदारमध्ये चार जना फिर्ता भए। किनकि, छियालेकबाट कालापानी र लिपुलेकसम्म सडक भएकाले गाडी चल्थ्यो। लिम्पियाधुरा क्षेत्रमा सडक विस्तार नभएकाले हामी सात जना भने त्यता जाने भयौं। त्यसबेला घट्टेबगडबाट छियालेकसम्मको चट्टानी क्षेत्रमा मात्रै सडक काट्न बाँकी थियो। छियालेकभन्दा माथिको क्षेत्रमा हेलिकोप्टर प्रयोग गरी भारतले सुरक्षाकर्मीका लागि गाडी पुर्‍याएको रहेछ।

छियालेकबाट पारि नेपालको छाङरु गाउँ टलक्क देखिन्थ्यो। छाङरुमा नेपाल टेलिकमको टावर छ। भारततर्फ सञ्चारको कुनै सुविधा नभएकाले भारतीय सेना घरमा सम्पर्क गर्न हाम्रा फोन माग्थे। दाउरा बनाउने, भान्सामा काम गर्ने गर्दै छियालेकमा पाँच दिन बिते। पाँचौं दिनपछि फेरि यात्रा सुरु भयो।

छियालेकमा पट्रोल टोलीलाई लिन सेनाका तीन गाडी आएका थिए। अबको यात्रा गाडीबाट अघि बढ्यो। छियालेकबाट चार किलोमिटर अगाडि गरब्याङ पुग्यौं। गरब्याङ क्षेत्रमा नेपाल–भारत जोड्ने सीतापुल छ। सीतापुलबाट पारि गए नेपालका छाङरु र तिंकर गाउँ पुगिन्छ। सीतापुलमा भारततर्फ एसएसबी थिए। नेपालतर्फ भने पुलमा कोही सुरक्षाकर्मी थिएनन्। नेपाल सरकारले गत वैशाख ३१ गते सशस्त्र प्रहरीको बोर्डर अब्जरभेसन पोस्ट (बीओपी) स्थापना गरेको स्थान सीतापुलबाट एक किलोमिटर अगाडि छ।

यात्रा अघि बढिरह्यो। भारतको नपल्च्यु गाउँबाट पुल तरी गुञ्जी गाउँ पुग्यौं। गुञ्जीछेउ रहेको सेनाको क्याम्पमा गएर खाना खाई वि श्राम गर्‍यौं। क्याम्पछेउ दोभान छ, लिपुलेकबाट आउने लिपु खोला र लिम्पियाधुराबाट बग्ने महाकाली नदीको। लिम्पियाधुराबाट बग्ने नदीको पानी लिपु खोलाबाट आउनेभन्दा झन्डै दोब्बर देखिन्थ्यो। गुञ्जीमा भारत सरकारले पक्की हेलिप्याड बनाएको छ। ठूला आकारका चारवटा हेलिकोप्टर अवतरण गर्न सक्ने जत्रो हेलिप्याड देखिन्थ्यो। गुञ्जीभन्दा पारि नेपालको कौवा क्षेत्र छ। गुञ्जीमा रहेका भारतीय सुरक्षाकर्मीले लिपुलेकबाट आउने खोलामा काठे पुल लगाएका छन्। कौवाबाट मनपरी रूख काटेर दाउरा बनाउँदा रहेछन्।

गुञ्जीमा एक रात बिताएर यात्रा अघि बढ्यो। त्यहाँबाट कालापानी र लिपुलेक क्षेत्रको पट्रोलमा जाने सेनाको टोली गाडीमा उत्तर–पूर्वतर्फ लाग्यो। हाम्रो टोली गुञ्जीबाट उत्तर–पश्चिम क्षेत्र लाग्यो। करिब पाँच किलोमिटर रङकाङ क्षेत्रसम्म गाडीमा गयौं। लिम्पियाधुराबाट आएको नदीभन्दा पारिको गाउँ हो, रङकाङ। सडक विस्तार नभएकाले हिँडेरै जानुपर्ने भयो। दुई किलोमिटर क्षेत्रमा नावी गाउँ थियो। नावीमा पनि सौका समुदायको बसोबास छ। त्यहाँभन्दा अलिक अगाडि नाम्पा खोला पर्छ। नदी किनारैकिनार हाम्रो यात्रा अघि बढिरह्यो। त्यस दिन सबैभन्दा बढी हिँड्नु थियो। गुञ्जीबाट झन्डै १९ किलोमिटर टाढा कुटी गाउँ छ। भारतीय सेनाको टोली पहिले नै पुगिसकेको थियो। हामी कामदार त्यस क्षेत्रको अवलोकन गर्दै बिस्तारै अघि बढेका थियौं। बिहान ९ बजेदेखि पैदल हिँड्न थालेका हामी झन्डै साँझ ५ बजेतिर कुटी पुग्यौं। त्यहाँ चार दिन वि श्राम गर्नुपर्ने थियो। सेनाको ब्यारेक गाउँभन्दा करिब एक किलोमिटर टाढा थियो। आईटीबीपीको पोस्ट गाउँछेउमै थियो।

 हामी सेनाको ब्यारेकमै खाना खाएर बस्न भने राति एक किलोमिटर वर कुटी आउँथ्यौं। कुटीका होटेल व्यवसायी कुँवरसिंह कुटियालले हामीलाई बस्न निःशुल्क व्यवस्था गरिदिएका थिए। कुँवर दाइको होटेलमा करिब १२ वर्षका एक नेपाली कामदार रहेछन्। कुटीमा सुरक्षाकर्मीका लागि हट (हिउँमा बस्न मिल्ने विशेषघर)का पाटपुर्जा सार्ने काममा पनि नेपाली भेटिन्थे। दार्चुलाका साथै जाजरकोट, कालीकोट, बझाङ, बाजुरा क्षेत्रका नेपालीलाई विभिन्न काम गरिरहेका भेटिन्थे। कोही घरका काममा, कोही खच्चरको काम त कोही बाटो बनाउन तल्लिन देखिन्थे। त्यो चिसो क्षेत्रमा नेपालीलाई दैनिक ज्याला पाँच सय भारु दिइँदो रहेछ। सस्तोमा जोखिमपूर्ण काम गर्ने भएकाले रोजाइमा नेपाली कामदार पर्थे। हामीलाई त झन् दिनको साढे चार सय भारु मात्रै दिएका थिए।

भारतीय कामदार भने आदि कैलाश क्षेत्रका पर्यटक गाइड बन्थे। उनीहरू दिनको एक हजार भारु छ भनेर सुनाउँथे। न्यून ज्यालामा काम गर्नु नेपालीको बाध्यता नै हो। रोजगारी गर्न कि विदेश जानुपर्ने कि त भारतको दिल्लीलगायत ठाउँमा। त्यति टाढा गएर काम गर्नुभन्दा त अलिक कम पैसा भए पनि नजिक राम्रो भनेर त्यसमै चित्त बुझाएका थियौं।

कुटी गाउँ सामरिक तथा प्राकृतिक हिसाबले मात्रै नभई धार्मिक दृष्टिले पनि महत्वपूर्ण छ। यो गाउँको छेउमा अलिक अग्लो स्थानमा पुराना जीर्ण भवन छन्। ती भौतिक संरचना महाभारत ग्रन्थका पात्रहरू पाँच पाण्डवको घर भएको विश्वास गरिन्छ।

कुटीमा चार दिन बसाइपछि पट्रोलको टोली जोलिङकाङतर्फ प्रस्थान गर्‍यो। कुटीबाट करिब चार किलोमिटर पर पुल तरेर नदी पारि जाने बाटो थियो। कुटीबाट १३ किलोमिटर टाढा रहेको जोलिङकाङ उच्च हिमाली क्षेत्र भएकाले बोटबिरुवा पाइँदैन। हिँड्दा सास बढेको महसुस हुन्थ्यो। हामी जेनतेन जोलिङकाङ पुग्यौं। त्यहाँ आईटीबीपीको क्याम्पमा चिया पिएर हामी करिब एक किलोमिटर पर सेनाको क्याम्पमा गयौं। क्याम्पमा फौज थिएन। पट्रोल आउन–जान नै सेनाले क्याम्प राखेको रहेछ। क्याम्पसँगै कुमाउ विकास मण्डल निगमका क्याम्प पनि छन्। आदि कैलाशका नामले प्रख्यात पार्वती कुण्ड र गौरी ताल यस क्षेत्रमा भएकाले यहाँसम्म यात्रु पुगिरहेका हुन्छन्। यस क्षेत्रमा महाभारतसँग जोडिएका अवशेषसमेत रहेछन्।

पार्वती कुण्डनजिक जोलिङकाङमा एउटा अचम्मको दृश्य छ। अधिकांश समय हिउँ जम्ने उक्त क्षेत्रमा रोपाइँ गरेजस्तै दृश्य देखिन्छ। स्थानीयका अनुसार त्यो द्वापर युगमा पाण्डवले लगाएको धान खेती हो रे ! त्यो ठाउँमा बीउ उमारिएजस्तो हरियाली देखिन्थ्यो।

पावर्ती कुण्डमा ठूलो मन्दिर बनाइएको छ। ताल परिक्रमा गर्न एक घण्टाभन्दा बढी लाग्ने गरी वरिपरि बाटो बनाइएको छ। बाटोमा रेलिङ बिच्छ्याउने काम भइरहेको थियो। त्यहाँ करिब ४० जना नेपाली कामदार खटिएका थिए। त्यस क्षेत्रमा फाँटहरू भएकाले बाख्राहरू पनि वनमा चराउन लगेका देखिन्थे।

जोलिङकाङमा तीन दिन बस्ने भयौं। हामीले फौजका लागि खाना बनाउने, पानी सार्नेलगायत काम गर्‍यौं। लिम्पियाधुराबाट बग्ने नदी र भौगोलिक बनावट हेर्दा पार्वती कुण्ड, जोलिङकाङ भारतको भूमि हो भने लिम्पियाधुराबाट बग्ने नदीपारि रहेका फाँटहरू नेपालका।

चौथो दिन जोलिङकाङबाट नौ किलोमिटर टाढा रहेको ओल्सा बेसमा जानुपर्ने थियो। बिहानै नास्ता खाएर सबै तयार भयौं। जोलिङकाङबाट नदी किनारैकिनार उत्तरतर्फ सिधा बाटो भएर ओल्सा बेसमा पुग्यौं। सेनाको ओल्सा बेसबाट लिम्पियाधुरा क्षेत्र जान लिम्पियाधुराबाट आएको नदी तरेर पारि जानुपर्छ। त्यस क्षेत्रमा दुईवटा पास रहेछन्, लिम्पियाधुरा र मङस्याधुरा। एक दिन विश्राम गरेर सीमा क्षेत्रमा जानुपर्ने योजना सेनाको थियो।

बोर्डर प्वाइन्टमा जाने दिन हवल्दार मेजरले मलाई राति १ बजे नै उठाएर चिया बनाउन लगाए। राति २ बजेसम्म तयार भएर सेनाको टोली दुई कामदार लिएर मङस्याधुरातर्फ गयो। अचम्मलाग्दो कुरा के देखियो भने लिम्पियाधुराको शून्य प्वाइन्ट अर्थात् चीनसँगको सीमामा भारतीय सेना रातारात जाँदा रहेछन्। राति नै सीमा अवलोकन गरी बिहान ८–९ बजेसम्म ओल्सा बेसमा फिर्ता हुने रहेछन्।

अर्को दिन लिम्पियाधुरा पासमा जाने पालो मेरो थियो। त्यो दिन पनि सेनाका हबलदार मेजरले मलाई राति १ बजे चिया बनाउन उठाए। स्टोभ बाल्नुपर्ने भएकाले १० मिनेटमा चिया तयार भयो। पासमा जानेहरू सेनाका जवानलगायत सबै २ बजेसम्म तयार भयौं। मैले अक्सिजन सिलिन्डर बोकेको थिएँ। अर्का मेरा साथीले चट्टान चढ्न प्रयोग हुने डोरी बोकेका थिए। सेनाहरू हातहतियारमा सजिए। ओल्साबाट पुल तरेर पारिपट्टि ४–५ किलोमिटर सिधा उकाली चढेर हामी लिम्पियाधुरामा करिब अँध्यारो–उज्यालो (झिसमिसे) अवस्थामा पुग्यौं। लिम्पियाधुरा क्षेत्रका चट्टानहरूमा हिउँ थियो। कुनै–कुनै ठाउँमा हिउँ पग्लिएको थियो। साउनको महिना भएकाले अधिकांश हिउँ पग्लिएको थियो। कालो माटो, कालो चट्टान र काला मसिना ढुंगा मात्रै त्यो क्षेत्रमा देखिन्थ्यो। लिम्पियाधुरा पासमा ढुंगा जोडेर चिनियाँ अक्षरमा केही लेखिएको थियो। भारतीय सेनाले त्यस क्षेत्रको फोटो खिचे, बिहानको साढे ८ बजेतिर सबै फिर्ता भए।

मैले यति राति किन सीमा हेर्नुपर्ने भनेर एक जना जवानलाई सोधें। पछि चिनियाँ सेना पनि सीमा हेर्न आउन सक्ने भएकाले बिहान सबेरै जाने गरेको उनले खुलाए। सीमा क्षेत्रमा काम गरिरहेका भारतीय सेनामा चीनको त्रास धेरै रहेछ। आफ्नो घर बागेश्वर बताउने सेनाका नायक (२ फिता लागेको) ले हामीसँग गुनासो नै पोखे, ‘गाउँ मे विवी हे, बालबच्चा हे। चाइना कब एक बम फ्याक के यही दफनादेता हे।’

उनको यो भनाइले पनि भारतीय सेनामा चीनको डरत्रास रहेको बुझ्न सकिन्छ। आफ्नो घर दक्षिण भारत बताउने आईटीबीपीका एक जवानले पनि चीनको डर पोखे। ‘चाइनिज सेना आगया तो में सीतापुलमें नेपालको चलाजाउंगा, नेपालमें चिनी सेना कुछ नही करेगां’, उनले भने। यी दुई जना त प्रतिनिधि पात्र हुन्।

भारतीय सेनाले ओल्सा बेसबाट दुवै पासको दुई–दुई पटक अवलोकन गर्‍यो। करिब १० दिनको ओल्सा बसाइ पनि सकियो। एघारौं दिन पुनः फिर्ता भयौं। जोलिङकाङ, कुटी, नावी, गुञ्जी, छियालेक हुँदै दुई दिनमा हामी घट्टेबगड पुगिसकेका थियौं। घट्टेबगडको चट्टानमा सडक निर्माण भइरहेकै थियो। त्यही बाटो भएर हिँड्नुपर्ने भएकाले वर्षात्का बेला चट्टानबाट ढुंगा झर्ने जोखिम पनि उत्तिकै थियो।

झन्डै एक महिनाको यात्राबाट घर फर्किन पाउँदा खुसी लागेकै थियो। घट्टेबगडबाट सेनाको गाडीले हामीलाई तुइन भएको स्थल बर्तीघाटसम्म पुर्‍यायो। महाकाली नदी उर्लिएको थियो। हामी तुइन तर्न महाकाली किनारतर्फ लाग्यौं। भारतीय सेनाको गाडी धार्चुलातर्फ लाग्यो।

पछिल्लो समय सीमा विवाद चर्किएकाले र भारतले सडक विस्तार गरिसकेकाले नेपालीलाई उक्त क्षेत्रमा रोजगारीमा लगाउन बन्द गरेको छ। उक्त क्षेत्रमा रोजगारी गुमाएका नेपालीले के काम गरेर परिवार चलाइरहेका होलान् ? सरकारले नयाँ नक्सा प्रकाशन गरेको भए पनि नेपालीले नयाँ रोजगारी पाउन सकेका छैनन्। भारतीय सेनाको पट्रोलबाट फर्केपछि म पढाइ गर्न जिल्ला सदरमुकाम झरेसँगै दार्चुलामा पत्रकारिता पनि गरिहेको छु।

अतिक्रमित नेपाली गाउँका नागरिकको अवस्था

भारतले अतिक्रण गरेका नेपालका कुटी, नावी र गुञ्जीमा सौका समुदायको बसोबास छ। भारतको पिथौरागढका बुदी, गरब्याङ, नपल्च्यु, रौङकाङसहित नेपालका कुटी, नावी, गुञ्जीसहित तिंकर र छाङरु गाउँ व्यास क्षेत्र भनेर चिनिन्छ। यो पूरै क्षेत्रमा बसोबास गर्ने सौका समुदाय नै हुन्। उक्त क्षेत्रमा आलु, मुला, रायो, फापर, जौ आदि कृषि उत्पादन हुन्छ।

सौका समुदाय नै वारिपारि बस्ने भएकाले सीमा क्षेत्रका बासिन्दा एकअर्काको कार्यमा सहभागी भइरहेका हुन्छन्। नेपाली र भारतीय सौकाले बोल्ने भाषा एउटै हो। पहिरन एउटै छ।

हिउँदमा भारी हिमपात हुने भएकाले नेपाल र भारत दुवै क्षेत्रका बासिन्दा बेंसी झर्ने गरेका छन्। नेपाली गाउँका नागरिक दार्चुला सदरमुकाम खलंगा झर्छन्। भारतीय गाउँका नागरिक पिथौरागढको धार्चुला तहसिल झर्छन्। भारतले अतिक्रमण गरेका नेपाली गाउँ नावी, कुटी र गुञ्जीका कतिपय बासिन्दा दार्चुला सदरमुकाममा बसोबास गर्छन्। ती तीन गाउँका ११ परिवार दार्चुला सदरमुकाम खलंगामा बसोबास गर्ने गरेको तथ्यांक छ।

अतिक्रमित गाउँका नेपालीसँग भारतीय आधार कार्ड, रासन कार्ड छ। लकडाउनले सीमा नाका बन्द भएकाले भारतीय रासन कार्ड भएका नेपालीले भारतबाट रासन (खाद्यान्न) ल्याउन सकिरहेका थिएनन्। भारतको धार्चुला प्रशासनका एसडीएम अनिलकुमार शुक्लाले गत वैशाख २३ गते भारतबाट उनीहरूले खाद्यान्न लग्न सक्ने अवस्था नरहेको भन्दै नेपाली प्रशासनलाई खाद्यान्नको व्यवस्था गर्न पत्र लेखेका थिए। अन्नपूर्ण पोष्ट दैनिकमा बिरादत्त भट्टले लेखेका छन् ।

प्रकाशित : साउन १२, २०७७

प्रतिक्रिया दिनुहोस्