अब सरिता गिरीको राजनीतिक यात्रा कता ? यसरी भएको थियो राजनीतिमा उदय



काठमाडौं : सर्वोच्च अदालतले तत्कालीन समाजवादी पार्टीले सरिता गिरीको सांसद पद खारेज हुने गरी लिएको निर्णयमा अन्तरिम आदेश दिन अस्विकार गरेसँगै उनको राजनीति भविष्य अन्योलमा परेको छ ।

पार्टीको विधान र कानूनअनुसार नै गिरीमाथि कारबाही गरिएको देखिएको भन्दै न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले आइतबार बाँकी विषयमा मुद्दाको निरुपणका क्रममा नै व्याख्या गरिने भनी आदेश गरेको हो ।

संविधान संशोधन प्रस्तावको पक्षमा आफ्नो पार्टी समाजवादी पार्टीले मतदान गर्न दिएको ह्विप उल्लंघन गरेको भन्दै गिरीलाई पार्टीले साधारण सदस्य नरहनेगरी कारबाही गरेको थियो । पार्टी सदस्य नरहेपछि उनी सांसदबाट पदमुक्त भएकी थिइन् । अदालतको फैसला पनि उनका लागि प्रतिकुल नआएपछि राजनीति यात्राबारे सोधिएको प्रश्नमा गिरीले भनिन्, ‘तत्काल म कुनै पार्टी खोल्न वा आवद्ध हुनतिर लाग्दिनँ । सन् १८१६ को सन्धिको आधारमा अब मधेसको हक, हित र अधिकारको बारेमा पहिला म एउटा सामाजिक संवाद सुरू गर्छु । म सामाजिक काममा अभ्यस्त हुन्छु ।’

आफ्नो साथमा जनता रहेको भन्दै आफू एक्लो नभएको उनको भनाइ छ । ‘सम्पूर्ण कानुन मेरो पक्षमा छ तर एक व्यक्तिविरुद्ध पूरै राज्य लागेपछि के नै लाग्दो रहेछ र ? धेरै कुरा यसरी बुझौँ । जे होस्, अब मलाई विश्वास गर्ने जनताका पक्षमा बोल्छु, सक्रिय हुन्छु । जबसम्म मेरा साथमा जनता छन्, म एक्लो छैन,’ उनले भनिन् ।

यस्तो राजनीतिमा उचारचढावलाई उनले स्वभाविक रुपमा लिएको देखियो । गिरीले भनिन्, ‘राजनीतिमा उचारचढाव त आइहाल्छ नि ! हिजो साथ दिनेले आज छोड्छन्, आज साथ छोडेकाहरू भोलि फर्केर आउँछन् । तर, म आफ्नो विचार र अडानप्रति स्पष्ट, दृढ छु । मैले दल त्याग गरेकी होइन । म निस्कासित भएकी हुँ । जसपामा धेरै नेता छन् । मलाई हटाउँदा १ पद खाली हुन्छ । मलाई राख्दा संसदमा त छँदै छ, पार्टीमा समेत १ पद दिनुपर्ने हुन्छ ।’

सरिता गिरीको उदय

नेपाली काँग्रेसको पृष्ठभूमिबाट राजनीति शुरु गरेकी सरिता गिरी हृदयेश त्रिपाठीको सहयोगमा मधेशको राजनीतिमा आएकी हुन् । ०५२ मा स्व।गजेन्द्रनारायण सिंह नेतृत्वको नेपाल सद्भावना पार्टी विभाजन गरेर हृदयेश त्रिपाठी, रामेश्वर राय यादव र राजेन्द्र महतोहरुले गठन गरेको समाजवादी जनता दलमा केन्द्रीय सदस्यका रुपमा गिरी प्रवेश गरेकी थिइन् । तर उक्त पार्टीले एक वर्षमै फेरी नेपाल सद्भावना पार्टीसँग एकीकरण गर्यो । नेपाल सद्भावनामा पनि गिरीलाई केन्द्रीय सदस्य भइन् । २०६०,०६१ मा महाधिवशेनमा सद्भावना दुई टुक्रा भयो । महाधिवेशनबाट बद्री मण्डल अध्यक्ष भएपछि हृदयेश त्रिपाठीहरुले पार्टी फुटाएर नेपाल सद्भावना पार्टी (आनन्दी देवी) गठन गर्दा सरिता गिरी पनि आनन्दी देवी समूहतिर लागेकी थिइन् । आनन्दी देवी समूहमा गिरीलाई प्रवक्ता बनाइएको थियो ।

पछि बद्री मण्डलले राजीनामा दिएपछि नेपाल सद्भावना पार्टी र आनन्दी देवी समूहबीच एकीकरण भयो । एकीकरण भए पनि त्यो पार्टी कहिले स्थिर रहेन । त्रिपाठी तत्कालीन तमलोपातिर लागे, रामेश्वर यादव शुरुमै तत्कालीन मधेशी जनअधिकार फोरम नेपालमा गइसकेका थिए । सरिताले पार्टी छोडिनन् ।

बरु पार्टीमा श्यामसुन्दर गुप्ता गुप्ताको शैलीलाई विरोध गर्दै सरिता गिरी पार्टी कार्यालयमै आमरण अनसन बसिन् ।

नेपाल सद्भावना पार्टी ९आनन्दी देवी० को सरिता गिरी नेतृत्वमा पुगिन् । संघीय सद्भावना पार्टीका अध्यक्ष अनिल झाले सरिता गिरीसँग पार्टी एकीकरण भयो । पछि उनी पञ्जाछाप ब्राण्ड लिएर उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टीसँग एकीकरण पुगिन् । त्यो पार्टीबाट उनी समानुपातिक सांसद भइन् र संसदीय दलको उपनेता पनि भइन् ।

पहिलो संविधानसभामा पनि समानुपातिक सांसद बनेकी थिइन् । त्यही बेला उनी बाबुराम भट्टराई नेतृत्वको सरकारमा श्रममन्त्री समेत भएकी थिइन् । तर पदको दुरुपयोग गरेर भ्रष्टाचार गरेको भन्दै तत्कालीन प्रधानमन्त्री भट्टराईले मन्त्री पदबाट गिरीलाई बर्खास्त गरेका थिए ।

यतिबेला मधेस राजनीतिक शक्ति एक ठाउँमा आएर जनता समाजवादी पार्टी हुँदा उनी त्यसमा अटाउन सकिनन् । राजपा र समाजवादीबीच पार्टी एकताले पूर्णता नपाउँदै उक्त पार्टीले उनलाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । त्यसमा विरुद्ध निर्वाचन आयोगदेखि सर्वोच्च अदालतसम्म गुहारदा उनले आफ्नो पद जोगाउन सकिनन् ।

प्रकाशित : साउन १२, २०७७

प्रतिक्रिया दिनुहोस्