सुनिल थापा समूहलाई सहमहामन्त्रीसहित ५ जना केन्द्रीय सदस्य दिए कांग्रेसले भोलि पार्टीमा भित्र्याउने



काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका धनकुटाका नेता सुनिलबहादुर थापालाई पार्टीको सहमहामन्त्री पद दिने भएको छ । राप्रपाका अन्य ३० जना नेतासहित पार्टी पत्यिाग गरेका थापालाई कांग्रेसले सहमहामन्त्री र पाँच जना केन्द्रीय सदस्य दिने भएको हो ।

सभापति शेरबहादुर देउवाले थापासहितको समूहलाई कांग्रेसमा समाहित गरेर सहमहामन्त्रीसँगै पाँच केन्द्रीय सदस्य दिन सकिने जनाउन दिएको थिए । त्यसका लागि आज दिउँसा थापाले उपसभापति विमलेन्द्र निधिलगायतसँग संवाद गर्दैछन् ।

“थापा कांग्रेस प्रवेश गर्न लाग्नुभएको होइन, उहाँ कांग्रेसको विधानअनुसार समाहित हुन लाग्नुभएको हो । समाहित हुने दलका नेतालाई सोही दलको हैसियतमा पद दिने व्यवस्थाअनुसार नै उहाँलाई सहमहामन्त्री पद दिने भन्ने कुरा भइरहेको छ,” कांग्रेस स्रोतले भन्यो, “उहाँसँगै कांग्रेसमा समाहित हुने अन्य पाँच जना केन्द्रीय सदस्यमा मनोनित हुनुहुन्छ ।”

यद्यपि, थापाले शनिबार राप्रपा नेतृत्वलाई बुझाएको राजीनामापत्रमा ‘उच्चस्तरिय कार्यसम्पादन समिति सदस्य एवं पूर्व महामन्त्री, राप्रपा’ लेखिएको छ । उनी कांग्रेससँग महामन्त्री पद र १० जना केन्द्रीय सदस्य पाउनुपर्ने माग राख्दै आएका थिए । तर ५ जना केन्द्रीय सदस्य दिने र बाँकी केन्द्रीय तहकालाई पार्टीको केन्द्रीय विभागमा व्यवस्थापन गर्ने देउवाले बचन दिएका छन् । त्यही अनुसार संवाद भइरहेको छ । थापाको समूह भोलि कांग्रेस प्रवेश गर्ने तयारी छ ।

“उहाँहरुलाई भोलि पार्टीमा समाहित गर्ने कुरो छ,” कांग्रेसका एकजना पदाधिकारीले, “सभापतिज्यूले कोरोनाका कारण वृहत्त कार्यक्रम नगर्ने भन्नुभएको छ । पार्टी कार्यालयमा पत्रकार साथीहरु बोलाएर उहाँहरुलाई पार्टी ल्याउने तयारी छ ।”

शनिबार नेता थापासहित ३१ नेताले राप्रपाका अध्यक्षत्रयलाई संयुक्त राजीनामा दिएका थिए । नेतृत्व ढुलमुले दृष्टिकोणका साथ अगाडि बढेकाले पार्टी एकीकरणपछि पनि आकर्षण नबढेको र आफूहरुले पटक–पटक ध्यानाकषर्ण गराउँदा पनि जनमत प्रतिकुल अगाडि बढेकाले साथ दिन नसक्ने निष्कर्षमा पुगेको राजीनामा पत्रमा उल्लेख छ ।

थापासँगै कांग्रेसमा समाहित हुने अन्य नेताहरुलाई कांग्रेसले पार्टीका केन्द्रीय विभागहरुमा व्यवस्थापन गर्ने भएको छ । उनीहरुलाई ४–५ दिनभित्रै पार्टीमा भित्रेयाउने पनि कांग्रेसले आन्तरिक तयारी गरिरहेको छ ।

पूर्व उद्योग वाणिज्यमन्त्री समेत थापाको नेतृत्वमा राजीनामा बुझाएका ३१ जनाको सूचीमा धनकुटाका सबै कार्यसमितिहरुले पनि राप्रपा परित्याग गरेको उल्लेख छ । यसअघि गत फागुनमा भएको तीन राप्रपा एकीकरणको औपचारिक कार्यक्रममा सुनिलको अनुपस्थितिलाई अर्थपूर्ण रुपमा लिइएको थियो ।

यसैबीच राप्रपाका संस्थापक स्वर्गिय सूर्यबहादुर थापाको गृहजिल्ला धनकुटा राप्रपाबिहिन भएको छ । उनका छोरा सुनिलले राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा। प्रकाशचन्द्र लोहनीलाई राजीनामा बुझाएसँगै धनकुटा राप्रपा बिहिन भएको हो ।

सुनिलले आफूसँगै राप्रपा धनकुटाका जिल्ला अध्यक्ष लक्ष्मी सुब्बासहित जिल्ला कार्यसमिति धनकुटाका सम्पूर्ण सदस्यहरु, राप्रपा धनकुटाका सम्पूर्ण नगर, गाउँ, क्षेत्रीय इकाइ समितिहरु पनि आफूसँगै ल्याएका छन् ।

प्राकाशित : साउन १२, २०७७

प्रतिक्रिया दिनुहोस्