विराट नर्सिङ होममा कार्यरत चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण



विराटनगर : विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल प्रालिमा कार्यरत चार जना महिला स्वास्थ्यकर्मीमा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ । चार जना स्टाफ नर्समा कोरोना रिपोर्ट पोजेटिभ देखिएसँगै नर्सिङ होममा आवद्ध संक्रमितको संख्या पाँच पुगेको छ ।

पोजेटिभ रिपोर्ट आएकाहरुमा क्रमशः २१, ३०, ३१ र ५६ वर्षीया स्टाफ नर्स रहेका छन् । संक्रमित मध्ये एकजना कोसी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन् । उनी विराट नर्सिङहोममा पनि आंशिक रुपमा कार्यरत रहेको जनाइएको छ । संक्रमित स्वास्थ्यकर्मी विराटनगर ५ र १० नम्बर वडाका हुन् भने अर्का एक जनाको ठेगाना धरान रहेको छ । त्यस्तै एक जना कोसी अस्पतालमै बस्ने गरेको महानगरपालिकाका फोकल पर्सन हैदर अलीले जानकारी दिए ।

गत मंगलबार ६५ वर्षीय चिकित्सकमा कोरोना संक्रमण देखिएपछि अस्पतालमा कार्यरत अरु कर्मचारी र स्वास्थ्यकर्मीको पनि पीसीआर परीक्षणका लागि शुक्रबार स्वाब संकलन गरिएको थियो ।

पहिलो चरणमा परीक्षण गरिएका ५८ जनामध्ये चार जनाको रिपोर्ट पोजेटिभ आएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए। ५४ जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी उनले दिए ।

प्रकाशित : साउन १२, २०७७

प्रतिक्रिया दिनुहोस्