दैलेखमा अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द



दैलेखः विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रण गर्न दैलेखमा अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरिएको छ ।

आइतबार मात्रै दैलेखको नारायण नगरपालिकाका २४ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । दैलेख पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा २४ जनामा संक्रमण पुष्टि भएको हो ।

तीमध्ये ८ जना कृषि विकास कार्यालय दैलेखका कर्मचारी हुन् । कार्यालयको २६ जनामा पीसीआर परीक्षण गरिएकोमा ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यस्तै प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दुल्लु नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसहित दैलेखमा कोरोना संक्रमितको सख्या ८ सय ९० जना पुगेको स्वास्थ्य सेवा कार्यालय दैलेखका (कोभिड-१९) फोकलपर्सन थीरप्रसाद रेग्मीले बताए ।

तीमध्ये ७ सय ८९ जना डिस्चार्ज भैसकेको उनले बताए । कोरोना भाइरस संक्रमण फैलिने अत्याधिक सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालय दैलेखले अत्यावश्यक सेवाबाहेक सबै सरकारी सेवा बन्द गर्न पत्राचार गरेको छ ।

कार्यालयले जिल्लाका ११ वटै स्थानीय तह, सबै सरकारी कार्यालय, सरकारी संस्थान, बैंक तथा वित्तीय संस्थाको अत्यावश्यक सेवाबाहेक नियमित सेवा प्रवाह बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बताएका छन् ।

सरकारले लकडाउन गरेपछि भारतबाट १५ हजार ४८ जना नागरिक दैलेखमा भित्रिएका छन् । भारतबाट भित्रिएका नागरिकमध्ये कम्तीमा ९ हजार जनाले नयाँ प्रतिलिपी नागरिकता लिने अनुमान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताएका छन् ।

सरकारले साउन ५ गते गरेको निर्णय अनुसार लकडाउन स्थगित गरिएको भए पनि कोरोना भाइरसको संक्रमण बढ्ने सम्भावना भने उत्तिकै रहेको छ । सरकारी कार्यालयका कर्मचारीहरुलाईसमेत संक्रमण देखिन थालेपछि प्रशासनले अर्को पत्राचार नहुँदासम्म अत्यावश्यक सेवाबाहेक नियमित सेवा प्रवाह बन्द गर्न ११ वटै स्थानीय तह, सबै सरकारी कार्यालय, सरकारी संस्थान, बैंक तथा वित्तीय संस्थालाई पत्राचार गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्