राखेप सदस्य सचिवमा सिलवाल पुनः नियुक्त



काठमाडौंः रमेशकुमार सिलवाल पदमुक्त भएको झन्डै तीन सातापछि राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवमा पुनः नियुक्त भएका छन् ।

मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले उनलाई ४ वर्षका लागि राखेप सदस्य सचिवमा नियुक्त गरेको हो । विगतमा भन्दा यस पटक उनको छनोट फरक प्रक्रियाले भएको थियो ।

यसअघि नेपाल भलिबल संघको सिफारिसमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माबाट सदस्य सचिव नियुक्त भएका सिलवाल यस पटक नयाँ खेलकुद विकास ऐन २०७७ का आधारमा छनोट भएका हुन् ।

राखेप सदस्य सचिव पहिलो पटक खेल छनोटका आधारमा भएको हो । यद्दपी त्यसमा पनि राजीनित प्रभाव भने पूर्ण रुपमा हावी भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासका रुपमा रहेका सिलवाल दोस्रो पटक पनि उनकै चाहनामा सदस्य सचिव नियुक्त भएका छन् ।

नयाँ ऐन अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको सिफरिस समितिले पठाएको एक महिलासहित ३ जनाबाट सिलवाल सदस्य सचिव नियुक्त भएका हुन् । समितिले राष्ट्रिय महिला भलिबल टोलीकी पूर्व कप्तान अन्जु श्रेष्ठ र नेपाल भलिबल संघका पूर्व उपाध्यक्ष नेकपाका नेता लिलबहादुर थापाको नाम सिफारिस गरेको थियो ।

५ वटा मापदण्ड पुरा गरेका २७ जनाले सदस्य सचिवका लागि आवेदन दिएका थिए । त्यसबाट खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया संयोजक तथा राखेपकी पूर्व सदस्य इन्दिरा निरौला र राखेपका पूर्व अधिकृत रिम रानाभाट सदस्य रहेको समितिले सिलवाल, श्रेष्ठ र थापाको नाम मन्त्री विश्वकर्मालाई सिफारिस गरेको थिए । मन्त्रालयले बुधबार नै क्याबिनेटमा राखेप सदस्य सचिवको सिफारिस दर्ता गराएको थियो ।

सदस्य सचिवको छनोट प्रक्रियालाई झन्झटिलो प्रक्रिया मान्दै आएका सिलवाल अन्ततः सोही प्रक्रियाबाट नयाँ सदस्य सचिव नियुक्त भएका छन् । नयाँ ऐन अनुसार विगतमा सदस्य सचिवमा रहेको अधिकार ७ जनाको कार्यकारी समितिले प्रयोग गर्नेछ । त्यस्तै ३७ जनाको राखेप बोर्ड रहनेछ ।

छ दशक अघि स्थापना भएको राखेपमा पहिलो पटक खुला आव्हानद्वारा सदस्य सचिव नियुक्ती भएको हो । यसअघि राखेप सदस्य सचिवको नियुक्ती राजनीतिक आधारमा हुने परम्परा थियो । २०४६ सालपछि जसले खेलकुद मन्त्रालयको नेतृत्व गर्छ त्यहि पार्टीका नेता कार्यकर्तालाई सदस्य सचिव नियुक्त गर्ने परम्परा थियो ।

गत महिना राष्ट्रपति विद्यादेवी भण्डराीबाट प्रमाणीकरण भएको नयाँ ऐनअनुसार राखेपको सदस्यसचिवका लागि पाँचवटा मापदण्ड तोकिएको छ । जसमा नेपाली नागरिक, स्नातक उत्तीर्ण, ३० वर्ष पूरा भएको, कम्तीमा ५ वर्ष खेलकुदको अनुभव र प्रचलित कानुनले अयोग्य नभएको हुनुपर्ने उल्लेख छ ।
गत वर्ष असार २३ गते सदस्य सचिव नियुक्त भएका सिलवाल असार १८ गते नयाँ ऐनको कार्यन्वयनसँगै पदमुक्त भएका थिए ।

केहि दिन अझै आफु सदस्य सचिवकै रुपमा रहेको उनले दाबी गरिरहँदा मन्त्रालयले सह सचिवलाई कार्यवहाक सदस्य सचिव तोकेसँगै उनले त्यसलाई स्वीकार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्