मस्जिद हमलाका आरोपी अदालतमा उपस्थित



एजेन्सीः न्युजिल्यान्डमा ४९ जनाको मृत्यु हुने गरी भएको अतिवादी हमलाका मुख्य आरोपीलाई अदालतमा उपस्थित गराइएको छ । अस्ट्रेलियाका नागरिक ब्रिन्टन टारेन्टलाई न्युजिल्यान्ड प्रहरीले शनिबार अदालतमा उपस्थित गराएको हो । उनीमाथि हत्याअभियोगको मुद्दा लगाइएको छ । 

सो आक्रमणमा संलग्न भएको आरोपमा पक्राउ गरिएका अन्य दुईजनालाई कैद गरिएको छ । कारागार चलान गरिएका उनीहरूमध्ये कसैको पनि यसअघि आपराधिक रेकर्ड नभएको जनाइएको छ । टारेन्टलाई अप्रिल ५ मा पुनः अदालतमा पेस गरिने भएको छ । शुक्रबार क्राइस्टचर्च सहरका दुई मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा ४९ जनाको मृत्यु हुनुका साथै २० घाइते भएका थिए । सो हमला न्युजिल्यान्डको इतिहासमा सबैभन्दा भीषण हो । 

आक्रमणकारीले अल–नुर–मस्जिद हमलाको फेसबुक लाइभ गरेका थिए । सैनिक पोसाक लगाएका ती व्यक्तिले कारबाट ओर्लिएर मस्जिदमा अन्धाधुन्ध गोली प्रहार गरेका थिए । आक्रमणपूर्व उनले ‘लेट्स पाटी स्टार्ट’ भनेका थिए । त्यसको आधा घन्टापछि लिनबुड मस्जिदमा आक्रमण भएको थियो । अल–नुर–मस्जिदमा बन्दुकधारीले टाउकोमा क्यामेरा बाँधेर बालबालिका, महिला र पुरुषलाई अन्धाधुन्ध गोली हानेका थिए । 

प्रतिक्रिया दिनुहोस्