जब घरको ओछ्यानमा आराम गर्न बाघ आइपुग्यो…



एजेन्सी : भारतको बाढीग्रस्त आसाम राज्यको एउटा राष्ट्रिय निकुञ्जबाट भागेको बाघ एउटा व्यापारीको पसल रहेको घरभित्र ओछ्यानमा आराम गरिरहेको अवस्थामा भेटिएको छ । उक्त घरका मालिक र उनको परिवारले बाघलाई घरभित्र आउँदै गरेको देखेपछि घर छाडेर भागेका थिए । वन्यजन्तु अधिकारीहरूले सार्वजनिक गरेको भिडियाेमा टिनको छानोमा रहेको एउटा प्वालबाट बाघले बाहिर चियाइरहेको देखिन्छ ।

उक्त बाघ बाढीले प्रभावित काजिरङ्गा राष्ट्रिय निकुञ्जबाट भागेको थियो र सुख्खा क्षेत्र खोज्दै उक्त घरमा पुगेको थियो । काजीरङ्गा राष्ट्रिय निकुञ्जमा हालैको बाढीमा परि ९२ वन्यजन्तुको ज्यान गएको छ । थकित बाघलाई दिनभरि घरमा सुत्न दिइएको थियो र साँझ परेपछि वन्यजन्तु संरक्षण अधिकारीहरूले उसलाई जङ्गलतर्फ धपाएका थिए ।

जङ्गलतर्फ जाने सुरक्षित मार्ग बनाएर बाघलाई त्यता धपाइएको थियो । कतिपय जनावर उक्त राष्ट्रिय निकुञ्जभित्र रहेको राष्ट्रिय राजमार्ग पार गरेर नजिकैको पहाडतर्फ जान खोज्दा सडक दुर्घटना परेर पनि मरेका छन् । भारत वन्यजन्तु कोषका अनुसार उक्त बाघलाई पनि सुरुमा बिहीवार बिहान सो राजमार्ग छेउमा देखिएको थियो ।

सायद व्यस्त सडकले गर्दा अत्तालिएको बाघले सडक नजिकैको घरमा शरण लिन पुग्यो । सो बाघलाई उद्धार गर्ने टोलीका अगुवा रथिन बर्मनका अनुसार स्थानीय समय बिहान साढे सात बजे बाघ घरभित्र पसेको बीबीसीले उल्लेख गरेको छ । बाघ आएको देख्नासाथ घर मालिक मोतीलाल आफ्ना परिवार लिएर त्यहाँबाट भागेका थिए ।

प्रतिक्रिया दिनुहोस्