कोरोना महामारीका कारण तेस्रो मुलुकबाट ३५ हजार नेपाली स्वदेश फर्किए



काठमाडौं : कोरोना महामारीका कारण भारतबाहेक तेस्रो मुलुकबाट झण्डै ३५ हजार नेपाली स्देवश फर्किएका छन् ।

नेपाल सरकार, कूटनीतिक निकाय र गैरआवासीय नेपाली संघको पहलमा विभिन्न २३ मुलुकमा अलपत्र परेका, भिसाको समय सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विभिन्न कारणले समस्यामा परेका नेपालीको उद्धार गरिएको हो ।

विभिन्न एयरलाइन्सका उडानमार्फत संयुक्त अरब एमिरेट्स यूएईबाट ७ हजार ७ सय ८५ जना स्वदेश फर्केका छन् । कुवेतमा आम माफी पाएका र अन्य अलपत्र परेकासहित ५ हजार ५ सय ४९ जनाको उद्धार गरिएको छ ।

यस्तै साउदी अरबबाट ५ हजार ६ सय ११, मलेसियाबाट ५ हजार ३ सय ३३ र कतारबाट ३ हजार ९ सय ४१ जना नेपाल आएका छन् । यस्तै अफगानिस्तान ३३, अस्ट्रेलिया ६ सय ३४, म्यानमारबाट २६, जापानबाट ७ सय ५६, थाइल्यान्डबाट ३२६, दक्षिण कोरियाबाट ४७६, बंगलादेशबाट ८४१, माल्दिभ्सबाट ७०९, सिंगापुरबाट १४६, हङकङबाट ८९ र पाकिस्तानबाट ७२ जना नेपाल फर्किएका हुन् ।

त्यसैगरी बहराइनबाट ९८०, ओमानबाट ४९२, अमेरिकाबाट ४२३, बेलायतबाट २२९, इजरायलबाट १२७, चीनबाट १०५ जना, टर्कीबाट ३४ जना र फिलिपिन्सबाट २०१ जना र इन्डोनेसियाबाट २० जनालाई स्वदेश फर्काइएको संकट व्यवस्थापन समितिले जनाएको छ ।

फर्केका मध्ये होटेल क्वारेन्टाइनमा एक हजार १ सय ५५ जना र होम क्वारेन्टाइनमा ३ हजार ७ सय ५५ जना रहेको समितिले जनाएको छ ।

त्यसैगरी विदेशमा मृत्यु भएका २ सय २१ जनाको शव ल्याएर आफन्तलाई जिम्मा लगाइएको कोभिड–१९ समितिले जनाएको छ ।

प्रकाशित : साउन १३, २०७७

प्रतिक्रिया दिनुहोस्