वीरगञ्जमा तीन स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि



वीरगञ्ज : वीरगञ्जमा तीन स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षमा उनीहरुमा कोरोना संक्रमण भएको नारायणी कोरोना विशेष अस्पतालका डाक्टर उदय नारायण सिंहले पुष्टि गरेका हुन् ।

डा. सिंहका अनुसार नारायणी अस्पतालमा कार्यरत दुई डाक्टर र एक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

नयाँ थपिएका १५ जना संक्रमितमा एकजना बाराका, एकजना इलामका र अन्य पर्सा जिल्लाका रहेका छन् । उनीहरुमध्ये केहीमा कोरोनाको लक्षण पनि रहेको डाक्टर सिंहको भनाइ छ ।

बारा, पर्सालगायत प्रदेश २ का जिल्लाहरुमा नयाँ कोरोना संक्रमित थपिने क्रम बढ्दै गएको सिंहले जानकारी दिए ।

उनका अनुसार नारायणी कोरोना विशेष अस्पतालमा हाल ६१ जना कोरोना संक्रमित उपचाररत छन् । प्रदेश २ का जिल्लाहरुमा समुदायमा कोरोना संक्रमण देखिएको उनले बताए ।

समुदायमा कोरोना संक्रमण देखिएको भन्दै प्रदेश २ का जिल्लाहरुमा एक घर एक व्यक्तिको कोरोना परीक्षण शुरू भएको उनले जानकारी दिए ।

प्रकाशित : साउन १३, २०७७

प्रतिक्रिया दिनुहोस्