वागमतीको स्वरूप फेरेरै छाड्छौं : वागमती सफाइ महाअभियान



काठमाडौं : वागमती सफाइ महाअभियानको ३०५ औं साता भएको छ । २०७० साल जेठ ५ शनिबार सुरु भएको महाअभियानको प्रभावबाट देशभरि ४५ भन्दा बढी स्थानमा सफाइ अभियान सुरु भइसकेको छ । ५ वर्ष सफा गरेर २० हजार मेट्रिक टन फोहोर निकाल्दा पनि वागमती किनारमा अझै नाक थुन्नुपर्ने अवस्था कायमै  छ । अभियन्ता भने वागमतीलाई सफा स्वच्छ र ढलमुक्त बनाएरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।

 सरकारले यो वर्ष सरसफाइ वर्षका रूपमा मनाउने घोषणा गरे पनि अहिलेसम्म प्रभावकारी कार्यक्रम ल्याउन नसकेको अभियानकर्मीको गुनासो छ ।  कतिपय अभियन्ता र सर्वसाधारण टाढा टाढाबाट आएर सफा गर्दा पनि वागमती छेउकै बासिन्दा अझै रमिते मात्र बनेको देख्न सकिन्छ । शनिबार बिहान सबै काम थाती राखेर वागमती सफाइमा पुग्दा वरिपरिका स्थानीय दर्शकमात्र बन्ने गरेको सफाइमा सक्रिय आनन्द नेपालीले बताए ।

 पुरानै अवस्थामा फर्काउन सबैभन्दा पहिले वागमती आसपासका बासिन्दा नै बढी सजग र जागरुक हुनुपर्ने नेपालीको भनाइ छ । सरकारले स्थानीय तहलाई समेत नदी संरक्षणमा सहभागी गराउन दबाब दिनुपर्ने उनले बताए  । उनले भने, ‘सरकारले स्थानीय तहलाई नदी संरक्षणका लागि  दबाब दिनु प¥यो । स्थानीय तहले पनि वातावरण प्रदूषण र नदी संरक्षणका विशेष अभियान थाल्नु प¥यो, दण्डसजाय र जरिवानाको व्यवस्था गर्नुका साथै जनचेतना जगाए अवश्य पनि सुधार आउँछ ।’ सरकारले ढल व्यवस्थापनमा ध्यान नदिएको उनको आरोप छ । ‘सफाइ भन्यो प्लास्टिक मात्र टिप्ने काम भइरहेको छ, तर ढल र फोहोर मिसाउन अझै बन्द गर्न सकेको छैन’, उनले भने, ‘धार्मिक रूपमा निकै महत्वपूर्ण वागमतीको यस्तो खराब हालत देख्दा औधी दुःख लाग्छ ।’अभियानमा सक्रिय शेखर खत्रीले सरकारी संयन्त्रकै कारण वागमती सफाइ सुस्त बनेको आरोप लगाए ।

सरकारी संयन्त्रभन्दा स्वःस्फूर्त सहभागी अभियन्ता धेरै सक्रिय रहेको बताए ।  खत्रीले अधिकारप्राप्त सरकारी संयन्त्रले ढल व्यवस्थापन गर्न चासो नदिएको आरोप लागए । सरकारले चासो नदिए पनि वागमतीको स्वरूप फेरेरै छाड्ने प्रतिबद्धता उनले जनाए । २०५२ सालमा स्थापना भएको अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको पहिलो अध्यक्ष विद्यादेवी भण्डारी यतिबेला राष्ट्रपति छन् । तर वागमतीमा भने खासै परिवर्तन नआएको वागमतीप्रेमीको गुनासो छ । समितिले भने वागमतीको अवस्था सुधार हुँदै गएको दाबी गरेको छ ।

समितिका प्रवक्ता प्रभात श्रेष्ठले बजेट अभावमा सोचेअनुसार काम नभएको स्विकारे ।  कार्ययोजना बनाए पनि कार्वान्वयनमा बजेटको समस्या देखिने गरेको उनले बताए । ढल व्यवस्थापनका लागि  विभिन्न ठाउँमा शुद्धीकरण प्लान्ट निर्माण गरेको दाबी गरे । २०५२ सालमा समिति गठन भए पनि २०७० सालमा मात्र कार्यक्षेत्र बढाइएको श्रेष्ठले जानकारी दिए ।  अत्याधुनिक  प्रविधि उपयोग गरी पशुपति क्षेत्रको गुह्येश्वरीबाट तिलगंगासम्म कञ्चन पानी बगाइने जानकारी उनले दिए । वागमती किनारमा बाँध बनाउने र वृक्षारोपण अभियान एकसाथ अघि बढाउने योजना रहेको उनले सुनाए ।

२०७० साल जेठ ५ मा सफाइ महाअभियान सुरु गर्दाको पहिलो लक्ष्य पशुपतिनाथ मन्दिरसम्म नदीको पानी स्नानयोग्य बनाउने थियो ।  क्रमिक सुधार भइरहेको बताए पनि सोचेअनुरूप नतिजा प्राप्त हुन सकेको छैन । यसका लगि अभियानकर्मीसँगै पत्रकारलगायत सबै लाग्नु आवश्यक छ । 

प्रतिक्रिया दिनुहोस्