क्राइस्टचर्च मस्जिद आक्रमण : एक जनाको सनक



एजेन्सी क्राइस्टचर्च : गत शुक्रबार न्युजिल्यान्डको क्राइस्टचर्चका दुई मस्जिदमा भएको हत्याकाण्ड एक जनाले नै मच्चाएको त्यहाँको प्रहरीको अनुमान छ। 

५० जना मारिएको र ५० भन्दा बढी घाइते भएको घटनामा पक्राउ परेका २८ बर्से अस्ट्रेलियाली ब्रेन्टन ट्यारेन्ट रंगभेदसमर्थक र आप्रवासीविरोधी भएको प्रहरीले बताएको छ । उनले मस्जिदमा जथाभावी गोलीप्रहार गर्दा फेसबुकमा प्रत्यक्ष प्रशारण गरेका थिए ।

घटनामा संलग्नताको आशंकामा प्रहरीले अन्य ३ जनालाई पक्राउ गरे पनि उनीहरू हत्याकाण्डमा सामेल नभएको अनुमान छ । प्रहरी कमिस्नर माइक बुसले यसबारे अनुसन्धान भइरहेको बताएका छन् ।

घाइतेमध्ये २ जना सिकिस्त छन् । कमिस्नर बुसले अल–नुर र लिनउड मस्जिदमा मारिएकाहरूको सनाखत गर्न भरमग्दुर प्रयास गरिरहेको बताए । 

कसले ग-यो हत्या 

प्रहरीले हत्या अभियोगमा पक्राउ गरेका ब्रेन्टनलाई शनिबार अदालतमा पेस ग-यो । हथ्कडी र कैदीको सेतो टिसर्ट लगाएका उनी त्यसबेला मुस्कुराइरहेका थिए । 

उनीबाहेक अन्य कैयौंविरुद्ध पनि प्रहरीले अभियोगपत्र पेस गरेको छ । कमिस्नर बुसले पत्रकार सम्मेलनमा बताएअनुसार हत्यामा २८ बर्से ब्रेन्टन नै एकमात्र अभियुक्त हुन् ।

उनले भने, ‘सुरक्षाकर्मीले बहादुरीपूर्वक उसलाई समाते, नत्र उसले अझै धेरै आक्रमण र हत्या गर्न सक्थ्यो । पक्राउ परेका दुईमध्ये एक महिलालाई रिहा गरिएको छ भने अर्का व्यक्तिमाथि हतियार राखेको अभियोगमा मुद्दा चलाइनेछ ।’

प्रतिक्रिया दिनुहोस्