भारत–पाकिस्तानबीच मिसाइल प्रहार गर्ने चर्काचर्की भएको खुलासा



एजेन्सी नयाँ दिल्ली÷इस्लामाबाद : गत महिना भारत–पाकिस्तानबीच चर्केको तनावमा दुवैले एकअर्कामाथि क्षेप्यास्त्र प्रहार गर्ने धम्की दिएको खुलासा भएको छ। भारत नियन्त्रित कास्मिरको पुलवामामा भएको आतंकवादी आक्रमणमा दर्जनौं भारतीय सुरक्षाकर्मी मारिएपछि भारतले पनि पाकिस्तान नियन्त्रित कास्मिरमा हवाई आक्रमण गरेको थियो। 

भारत–पाकिस्तान दुवैबीच मिसाइल हान्ने चर्काचर्की भएपछि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनसहित अन्य अमेरिकी वरिष्ठ अधिकारीले मध्यस्थता गरेपछि मात्र शान्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले खुलासा गरेका छन्। उक्त विवादमा संलग्न पाँच वटा स्रोतले चर्काचर्की मिसाइल हान्ने धम्कीसम्म पुगेको बताएका छन्।

स्रोतका अनुसार चर्काचर्कीमा भारतले पाकिस्तानमाथि ६ मिसाइल हान्ने धम्की दिएको थियो । भारतले ६ वटा हाने आफूले त्यसको ३ गुणा अर्थात १८ वटा मिसाइल भारतमाथि प्रहार गर्ने कडा जवाफ पाकिस्तानले दिएको अमेरिकी कूटनीतिज्ञ तथा भारत र पाकिस्तानका सरकारी अधिकारीले बताएको बेलायती समाचार एजेन्सी रोयटर्सले दिएको छ। 

आणविक शस्त्रास्त्रले सुसज्जित भारत–पाकिस्तान दुवैबीच एक्कासी बढेको तनावले कास्मिर क्षेत्रलाई यतिबेला विश्वको सबैभन्दा खतरनाक ठाउँ बनाएको छ, जहाँ कुनै पनि बेला युद्ध सुरु हुन र भड्किन सक्छ। 

सन् २००८ पछि दक्षिण एसियाली क्षेत्र कास्मिरमा यस्तो युद्धको यस्तो सैन्य संकट पहिलोपल्ट उत्पन्न भएको हो। भारतले पाकिस्तान नियन्त्रित कास्मिरमा हवाई आक्रमण गरेको भोलिपल्ट दुवै देशका लडाकु विमानले उडान गरेका थिए भने पाकिस्तानले आफ्नो भूभागमा पसेको भारतीय लडाकु विमान खसाली दिएको थियो र पाइलटलाई नियन्त्रणमा लिएको थियो।

अर्को दिन फेब्रअरी २७ साँझ भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले पाकिस्तानको गुप्तचर संयन्त्र आइएसआई (इन्टर सर्भिसेज इन्टेलीजेन्स) प्रमुख असिम मुनिरसँग गरेको टेलिफोन कुराकानीमा भारत ‘प्रतिआतंकवादी कारवाही’ बाटपछि नहट्ने चेतावनी दिएको अमेरिकी कूटनीतिज्ञले बताएको रोयटर्सले उल्लेख गरको छ।

र–पाकिस्तानबी पाकिस्तानका एक मन्त्री र इस्लामाबादस्थित एक अमेरिकी कूटनीतिज्ञले पाकिस्तानमाथि भारतले आधा दर्जन मिसाइल हान्ने धम्की दिएको बेग्लाबेग्लै पुष्टि गरेका छन्।

तर उनीहरूले यस्तो धम्की कसले दिएको थियो खुलाएनन् । पाकिस्तानी मन्त्रीले त्यसबेला भारतीय र पाकिस्तानी गुप्तचर संयन्त्र आपसी सम्वादमा रहेको र अहिले पनि आपसी सम्पर्कमा रहेको बताए।

ती मन्त्रीलाई उद्धृत गर्दै रोयटर्सले ‘भारतले एउटा मिसाइल हाने हामी ३ मिसाइल हान्छौं। भारतले जस्तो आक्रमण गर्छ पाकिस्तानले त्यसको ३ गुणा जवाफ दिन्छ’ भनेको उल्लेख गरेको छ।

सन् १९४७ मा पाकिस्तान निर्माण भएयता दुवैबीच ३ पल्ट युद्ध भइसकेको छ। सन् १९७१ मा तेस्रो भारत–पाकिस्तान युद्ध भएको थियो। तर त्यसयता पनि दुवै देशका सैनिकबीच कास्मिरको नियन्त्रण रेखामा बेलाबेला गोली प्रहार हुने गरेको छ। 

प्रतिक्रिया दिनुहोस्