प्रतिनिधिसभा बैठक सोमबारसम्म स्थगित



काठमाडौँ: प्रतिनिधिसभाको बैठक  सोमबारसम्म स्थगित भएको छ । आइतबार बैठकको सुरुवातमै राष्ट्रिय जनता पार्टी नेपालका सांसदले अवरोध गरेपछि सभामुख कृष्णबहादुर महराले १० मिनेट स्थगित गरेका थिए । त्यसपछि भने बैठक नबसी सूचना टाँस गरेर सोमबार दिउँसो २ बजे सम्मका लागि स्थगित गरिएको छ।

बैठकको सुरुमा राजपा सांसद लक्ष्मणलाल कर्णले पूर्वन्यायाधीश गिरीशचन्द्र लाल संयोजकत्वको प्रतिवेदन सार्वजनिक नहुन्जेल संसद् चल्न नदिने बताएका थिए । आन्दोलनमा कोही दोषी हो कि होइन राज्यले गठन गरेको आयोगको प्रतिवेदनबाट थाहा पाइने भन्दै तत्काल सार्वजनिक गर्न माग गरे। यसअघि गत बुधबार पनि राजपाले संसद बैठक अवरुद्ध गरेको थियो।

उक्त बैठकमा सभामुख कृष्णबहादुर महराले प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएका थिए। सभामुखको निर्देशनपछि पनि प्रतिवेदन अझै सार्वजनिक भएको छैन । आयोगको प्रतिवेदन सार्वजनिक गर्न आफूले सरकारको ध्यानाकर्षण गराइसकेको भन्दै सभामुख महराले राजपा सांसदलाई आफ्नो सिटमा बस्न अनुरोध गर्दा पनि उनीहरू नबसेपछि बैठक १० मिनेटका लागि स्थगन गरेका थिए । 

१० मिनेट स्थगित बैठक बस्दै नबसी सोमबार दिउँसो २ बजे सम्म स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ । आइतबारको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयकसम्बन्धी समितिको प्रतिवेदन,२०७५’ पेस गर्नेलगायत कार्यसूची थियो। 

 

प्रतिक्रिया दिनुहोस्