उजुरी फिर्ता नलिए ज्यान मार्ने धम्की



जनकपुरधामः जनता समाजवादी पार्टीका संघीय परिषद सदस्य नविन यादव विरुद्ध उजुरी दिएकी किशोरीलाई एक समूहले धाकधम्की दिएको छ ।

नविन विरुद्ध जिल्ला प्रहरी कार्यालयमा अभद्र व्यवहारको उजुरी दिएपछि उनका साथीहरुले घरसम्म पुगेर आफुलाई धाकधम्की दिईरहेको ती किशोरीले आरोप लगाएकी छन् । उनले आफूलाई युवाहरुको एक समूहले घरसम्मै पुगेर उजुरी फिर्ता लिन र आफूले नै गल्ती गरेको स्वीकार गर्न दवाब दिइरहेको बताइन् । उनले भनिन्,‘राति राति केटाहरु घर अगाडी पुगेर उजुरी फिर्ता लिन भन्छन्, फिर्ता नलिए ज्यान मार्नेसम्मको धम्की दिईरहेका छन् ।’ आफूलाई धाकधम्की दिईरहेकोले घर बाहिर निस्कन समेत गाह्रो भईरहेको उनले बताईन् ।

आफूले शान्ति सुरक्षाका प्रहरीलाई खबर गरिसकेको जानकारी दिदै उनले आफूमाथी त्यस्तो कुनै अप्रिय घटना घटे त्यसको सम्पूर्ण जिम्मेबार उनीहरु नै हुने बताईन् ।

ति किशोरीको उजुरीको आधारमा प्रहरीले शनिबार नविन यादव विरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गरेको हो ।

प्रतिक्रिया दिनुहोस्