जगदम्बा स्टिलमा हजारौं भारतीय कामदार, कोरोना संक्रमण समुदायमा फैलिँदै



पर्साः कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले देशकै प्रमुख नाकाहरु सिल गरेको छ ।

यो अवस्थामा भारतबाट अवैध रुपमा भित्रिएका भारतीय कामदारहरु बाराको जितपुर सिमरा उपमहानगरपालिका २ सिमरामा रहेको जगदम्बार स्टिल उद्योगमा काम गरीरहेको खुलासा भएको हो ।

स्थानिय प्रशासनले सिमा नाकामा कडाई गरेको भनेपनि डियुटीमा खटेका प्रहरीलाई आर्थिक प्रलोभन देखाएर अवैध हजारौको संख्यामा भारतीय मजदुरहरु पीसीआर परिक्षण नै नगराई अवैध रुपमा नेपाल प्रवेश गरेको यो घटनाले खुलेको छ ।

जगदम्बा उद्योगमा नेपाली र भारतीय गरी करिब ४ हजार कामदार कार्यरत छन । ती मध्ये २ हजार भन्दा बढी भारतीय नागरिकनै उद्योगमा कार्यरत रहेको स्थानियले जानकारी दिएका छन । ती भारतीयहरु अवैध रुपमा नेपाल प्रवेश गरेको उनीहरुको दावी छ ।

मुख्यनाकाबाट नेपाल प्रवेश गरे १५ दिन क्वारेन्टाईनमा बस्नु पर्ने भएकोले क्वारेन्टाईनमा बस्न नचाहने कामदारहरु डियुटीमा खटेका प्रहरीलाई आर्थिक प्रलोभन देखाएर अवैध बाटो भएर नेपाल प्रवेश गरी उद्योगमा काम गरीरहेको स्थानिय एव नेकपाका युवा नेता मनोज पौडेलले बताए ।

अहिले समुदाय स्तरमा नै कोरोना संक्रमण फैलिसकेको छ, यसको ज्वलन्त उदाहरण पर्सा जिल्लालाई नै लिन सकिन्छ, उनले भने,‘ आज मात्र पर्साको परवानीपुरमा रहेको जगदम्बा ईन्टरप्राईजेजमा स्थानिय प्रशासनले सिलबन्दी गरेको छ ।’

भारतीय नागरिक उद्योगका सियो सहित कर्मचारीमा संक्रमणको पुष्टि भएपछि उद्योगमा सिलबन्दी गरिएको हो । पहिला कार्यकारी अधिकृतको पीसीआर परिक्षण गरिएको थियो उनको संक्रमणको पुष्टि भएपछि उनको ट्रेसिङ्गको आधारमा उद्योगका लुकिछिपी काम गरीरहेको अन्य कामदारको पनि पीसीआर परिक्षण गर्दा कोरोना संक्रमणको पुष्टि भएको हो ।

जगदम्बा स्टिलमा पनि व्यापक रुपमा भारतीय नागरिकहरु काम गरीरहेका छन र स्थानिय प्रशासन मुकर्दशक बनेको उनको आरोप छ । स्थानिय नागरिक भन्दा पनि बाहिरबाट आएका नागरिकबाट नै कोरोना संक्रमणको उच्च जोखिम बढ्दै गईरहेको छ ।

लकडाउनमा प्रभावकारी भएपनि अहिले भने खासै प्रभाव देखिएको छैन, स्थानिय ईलाका प्रहरी कार्यालय सिमरालाई भारतीय नागरिकबारे सूचना दिदा समेत प्रहरीले कुनै ठोस कदम भने, नचालेको उनको आरोप छ । उनले भने, हामीले सूचना दिदा पनि प्रहरी उल्टै उद्योगको पक्षमा बोल्दै त्यहाँ कुनै पनि भारतीय नागरिक काम नगरेको जवाफ दिने गरेको छन् ।

उद्योगका कार्यरत एकजना मजदुरले नाम नछाप्ने सर्तमा भने, हामी बाध्य भएर जोखिम मोलेर उद्योगमा काम गरीरहेको छौ, काम गरेनौ भने एकछाक टार्न धौ धौ परीरहेको छ । विगत चार महिनाको लकडाउनले पनि हामीलाई धेरै पिडा भोगि सकेको छौ । केहि बोल्यो वा विरोध गरे उद्योगबाट नै निस्कान गरिदिन्छ त्यही भएर भारतीय मजदुर संग समाजिक दुरी बनाएर नै काम गरीइरहेका छौ ।

उद्योगमा कार्यरत भारतीय मजुदरहरु सिमराको वस्तीमा समेत छुट्टै कोठा लिएर बस्दै आएका छन । उनीहरुको कारण समुदाय स्तरमै कोरोना संक्रमण फैलने जोमिख समेत बढेको स्थानिय प्रदीप श्रेष्ठले बताए । उनले भने, भारतीय नागरिक संगै नेपाली नागरिकमा समेत कोरोना सक्रमण फैल्न सक्ने उच्च जोखिम रहेपनि सम्बन्धीत निकाय भने, मौन नै बसेको छ ।

स्थानिय प्रशासनले यसको पहल नगरे हामी सडकमा विरोध गर्छौ, जगदम्बा मात्र नभई यहाँ रहेको अधिकाशं उद्योगमा पीसीआर परिक्षण नगराएका व्यापक रुपमा भारतीय कामदारहरु काम गरीरहेका छन । स्थानिय प्रशासनले सम्पूर्ण उद्योगमा नै अनुगमन गरेर भारतीय नगारिकलाई नियन्त्रणमा लिई पीसीआर परिक्षण गर्नुपर्छ होईन भने बाध्य भएर हामी सडकमा उत्रिन्छौ ।

प्रतिक्रिया दिनुहोस्