जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपीसहित ३८ जना प्रहरीमा कोरोना संक्रमण



स्याङ्जा : स्याङ्जाको जिल्ला प्रहरी कार्यालयमा कोरोना संक्रमित प्रहरी कर्मचारीको संख्या ३८ पुगेको छ । मंगलबा थप १६ जनामा संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ३८ पुगेको हो ।

प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा मंगलबार स्याङ्जा जिल्ला प्रहरी कार्यालयमा कार्यरत १६ जना प्रहरी, एक थुनुवा, एक जना प्रहरी कर्मचारीको २८ महिने छोरीमा संक्रमण पुष्टि भएको पुतलीबजार नगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख विष्णु काफ्लेले जानकारी दिए ।

‘कोरोना संक्रमित हुने बच्चा पनि प्रहरी कार्यालयमै अभिभावकसँग बस्थिन् । उनको पनि परीक्षणका क्रममा कोरोना पुष्टि भयो,’ उनले भने । योसँगै जिल्ला प्रहरी कार्यालय स्याङ्जा कोरोनाको नयाँ ‘हटस्पट’ बनेको छ ।

९९ जनाको दरबन्दी रहेको जिल्ला प्रहरी कार्यालयमा एक तिहाइभन्दा बढी जनशक्ति संक्रमित भएका हुन् । यसले सेवा प्रवाहमा नै समस्या पार्न सक्ने आँकलन गरेर प्रदेश प्रहरी कार्यालय पोखरामा एक टोली तयारी अवस्थामा राखिएको छ ।

स्याङ्जाका प्रहरी प्रमुख विमलराज कँडेलसहितका प्रहरी अधिकारी सेल्फ आइसोसेलनमा छन् ।

मंगलबारमात्रै पुतलीबजारमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख काफ्लेले बताए ।

प्रहरी, थुनुवा र प्रहरीको सन्तानबाहेक बाँकी एक जनाचाहिँ भारतबाट आएर क्वारेन्टाइन बसेको व्यक्ति रहेको र भारतबाट आएका बाहेक अरुको बाह्य ट्राभल हिस्ट्री नभएको उनले बताए ।

मंगलबारनै स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाका ४ जना र वालिङ नगरपालिकाका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि साउन ६ गते जिल्ला प्रहरी कार्यालयका तीन जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण भेटिएको थियो । उनीहरुलाई सामान्य ज्वरो आएपछि पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि पोखरा पठाइएपछि रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय सिल गरेर सबै प्रहरी कर्मचारीको स्वाब परीक्षक गर्न पोखरा पठाइएको थियो । जसमा मंगलबार मात्र स्याङ्जा प्रहरी प्रमुख एसपीसहित १८ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार साँझ ७ बजे विज्ञप्ति जारी गरी स्याङ्जा प्रहरीका २ जनासहित ३१ जना नयाँ संक्रमित भेटिएको पुष्टि गरेको छ । जसअनुस स्याङ्जाकै वालिन नगरपालिकामा १, अर्जुनचौपारीमा ४, बाग्लुङको निसीलामा ५ र बरेङमा १ जना नयाँ संक्रमित भेटिएको हो ।

प्रकाशित : साउन १४, २०७७

प्रतिक्रिया दिनुहोस्