नेपाली राजनीतिक तानातानमा निकै चर्चामा रहेका पूर्वरथी खड्का रहेनन्



काठमाडौं : नेपाली सेनाका पूर्वरथी कूलबहादुर खड्काको मंगलबार निधन भएको छ । उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएका खड्का नेपाली सत्ता राजनीतिक तानातानमा निकै चर्चामा ल्याइएका थिए ।

पूर्वरथी खड्कालाई तात्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०६६ सालमा प्रधानसेनापति रुक्मांगत कट्वाललाई बर्खास्त गरेको निर्णसहित निमित्त प्रधानसेनापतिको जिम्मेवारी थमाइएको थियो । तर तात्कालीन राष्ट्रपति रामवरण यादवमार्फत् उक्त निर्णयमाथि हस्तक्षेपसहित उसैबखत कट्वालको प्रधानसेनापतिको जिम्मेवारी कायमै रहेको जानकारी गराएपछि प्रम प्रचण्डको प्रयास असफल भएको थियो ।

मन्त्रिपरिषदले सेनापति नियुक्त गरेको औपचारिक पत्र हातमा लिएपछि पनि खड्का आफ्नो हैसियत देखाउन जंगी अड्डा पुगेका थिएनन् । बरु उनीमाथि परिरहेको प्रचण्डको चर्को दबाबलाई थेग्न केही समय शान्त रहेरै दुर्घटना ननिम्त्याउन भूमिका निर्वाह गरेका थिए । यसको असर निकै ठूलो रुपमा देखिए पछि स्वयम् प्रम प्रचण्डले आधारातमा प्रमको जिम्मेवारीबाट राजीनामा दिएका थिए ।

केही साताअघि स्टोनको शल्याक्रिया गरिएको ६९ वर्षीय खड्का केही दिनदेखि नर्भिक अस्पतालमा उपचार गराइरहेका थिए । २००८ सालमा जन्मिएका खड्कालाई मंगलबार अपराह्न ४ बजे चिकित्सकहरुले मृत घोषणा गरेपछि खड्काको मंगलबार नै सैन्यसम्मानसहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो ।

प्रकाशित : साउन १४, २०७७

प्रतिक्रिया दिनुहोस्