माइभ्याली गोल्डकप : हिमालयन शेर्पा फाइनलमा प्रवेश



काठमाडौं : हिमालयन शेर्पा क्लब इलाममा जारी पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। सदरमुकामको ठूलो टुँडिखेलमा आइतबार सम्पन्न दोस्रो तथा अन्तिम सेमिफाइनलमा काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (मेची नेत्रालय) झापालाई ३–० ले पराजित गर्दै शेर्पा उपाधि नजिक पुगेको हो।

हिमालयनको जितमा त्रिदेव गुरुङ, रवि थापा र बिसन गुरुङले एक–एक गोल गरे। झापाका खेलाडीले थुप्रै पटक गोल गर्ने अवसर प्राप्त गरे पनि गोल गर्न सकेनन्। अन्ततः झापा सेमिफाइनलबाटै बाहिरिन पुग्यो।

खेलको ‘म्यान अफ दी म्याच’ हिमालयनकै गोलकिपर किशोर गिरी घोषित भए। उनले नगद १० हजारसहित मेडल प्राप्त गरे। हिमालयनले अब उपाधिका लागि क्यामरुनको दाउफिन्स एफसीसँग प्रतिस्पर्धा गर्नेछ। दाउफिन्स नेपाल पुलिस क्लबलाई हराउँदै यसअघि नै फाइनल पुगिसकेको छ। 

पूर्वी पहाडी जिल्लाकै सर्वाधिक धनराशि मानिएको प्रतियोगिताको विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख पाउने छन्। त्यस्तै उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ताले नगद २५ हजार रुपैयाँ पाउँनेछन्।

प्रतिक्रिया दिनुहोस्