बाँकेमा सरकारी क्यान्सर अस्पताल सञ्चालनमा अाएसँगै बिरामीलाई सहज सेवा



बाँके: बाँकेको खजुरा गाउँपालिका–७ मा सञ्चालनमा आएको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले पश्चिम नेपालका क्यान्सरका बिरामीहरुलाई उपचार सेवा र सुविधा दिइरहेको छ। 

 

भरतपुर क्यान्सर अस्पतालपछि सुविधा सम्पन्न अस्पतालका रुपमा स्थापना भएको अस्पतालले सेवा सुरु गरेसँगै पश्चिम नेपालका क्यान्सरका बिरामीहरुलाई चितवन र काठमाडौं पुग्नुपर्ने बाध्यता हटेको छ।

 

अस्पतालमा कर्णाली प्रदेश, प्रदेश ५ र ७ का जिल्लाका बिरामीहरुको चाप बढेको छ। काठमाडौंमा ठूला अस्पताल सरहको प्रविधि र जनशक्तिसहित पायक पर्ने ठाउँमा अस्पताल सञ्चालनमा आएपछि बिरामीहरुलाई सहज भएको छ। 

 

बैजनाथ गाउँपालिका–४, की रोइनीदेवी ओलीले भनिन्, ‘क्यान्सरको शङ्का लागेपछि म भरतपुर अस्पतालमा पुगेर अप्रेसन गरेँ, यहाँ अस्पताल सञ्चालनमा आएपछि बाँकी उपचार यतै गरिरहेकी छु।’

 

श्रीमतीको स्तनमा समस्या देखिएपछि क्यान्सर हुनसक्ने आशङ्कामा अस्पताल पुगेका कोहलपुर नगरपालिका–२ का धर्मराज श्रेष्ठले नजिकै अस्पताल हुँदा उपचारमा सहज भएको बताए। उनले भने, ‘चितवन, काठमाडौं जाँदा धेरै खर्च लाग्ने भएकाले हामीलाई यहाँ अस्पताल सञ्चालन हुँदा निकै सहज भएको छ। खर्च जोगिएको छ।’

 

अस्पताललाई पूर्णरुपमा सञ्चालनमा ल्याउन ८५ करोड रुपैयाँ लागत अनुमान गरिएकामा हाल ४० करोड रुपैयाँको लागतमा पूर्वाधार बनिसकेको छ। गत असार ११ गतेदेखि अत्याधुनिक प्रविधिसहित सञ्चालनमा आएको क्यान्सर अस्पतालमा पश्चिमका २२ जिल्लाका बिरामीहरु आउने गरेका अस्पतालले जनाएको छ। 

 

अस्पतालबाट हालसम्म १ हजारभन्दा बढीले सेवा लिइसकेको अस्पतालका कार्यकारी निर्देशक डा विश्वराम पौडेलले बताए। पोडेलका अनुसार अहिले पनि दैनिक ३० देखि ४० जनासम्म बिरामीहरु उपचारका लागि आउने गरेको अस्पतालका कार्यकारी निर्देशक डा विश्वराम पौडेलले बताए।

 

अस्पतालले अहिले ओपिडीका साथै सिटी स्क्यान, रेडियोलोजी, किमोथेरापी, फार्मेसी, प्याथोलोजी लगायतका सेवा सञ्चालन गरिसकेको छ। बिरामीको चापअनुसार चाँडै अत्याधुनिक शल्यक्रिया वार्ड रेडियसन र डाइगोनोसिस सेवा विस्तारसँगै विशेषज्ञ चिकित्सक ल्याउने तयारी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्