पर्सामा एकै दिन कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुग्यो



पर्साः पर्सामा बुधबार दोस्रो व्यक्तिको पनि कोरोना सक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।

नेशनल मेडिकल कलेज वीरगन्जमा उपचाररत एक ७३ वर्षीय पुरुषको कोरोना सक्रमणबाट मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा.मदन उपाध्यायले पुष्टि गरेका छन् ।
लामो समयदेखि मिर्गौला, दामा र छातीमा पानी जम्ने समस्याले ग्रसित वीरगन्ज महानगरपालिका वडा नं. ६ माइस्थान पछाडी घर भएका पुरुषको बुधबार बिहान ३ बजेको उपचारको क्रममा मृत्यु भएको उनले बताए ।

उनले भने, एक हप्ता पहिले झाडापखाला लागेर वीरगन्ज हेल्थ केयर हस्पिटलमा उपचारका लागी पुगेका ती वृद्धलाई थप उपचारका लागि तराई हस्पिटलमा पनि लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि बयोधा अस्पतालमा लगिएको हो ।’ ती पुरुषलाई बयोधा अस्पतालमा उपचारको लागि लैजाँदा त्यहाँ पिसिआर रिपोर्ट मागिएकाले उनलाई मंगलबार नारायणी अस्पतालमा लगिएको थियो । तर उनको अवस्था जटिल भएपछि स्वाब संकलन गरी थप उपचारको लागि मंगलबार बुलकी नै नेशनल मेडिकल कलेजमा पठाईएको थियो ।

मेडिकल कलेजले ति सिकिस्त वृद्धलाई आइसियुमा नराखी आकस्मिक उपचार कक्षमै भर्ना गरेर उपचार गरेको र उपचारका क्रममा उनको मृत्यु भएको थियो । बिहान करिब ३ बजे नै मृत्यु भएको भए पनि पिसिआर परिक्षणको रिपोर्ट बुधबार साँझ साढे ५ बजे मात्रै आएको र रिपोर्ट पोजिटिभ रहेको मेसु उपाध्यायले बताए । यसअघि आज बिहानै वीरगन्ज ७ रेशमकोठीका ६८ बर्षिय पुरुषको संक्रमणबाट मृत्यु भएको थियो । वीरगन्जको नारायणी अस्पतालको अस्थायी कोडिभ होस्पीटल गण्डकमा उपचारको क्रममा बिहान १० बजेर ४० बजे ती वृद्धको मृत्यु भएको मेडिकल सुपरिटेन्डेण्ड उपाध्यायले बताए ।

मुटु रोगबाट ग्रसित उनको उपचारको लागि वीरगन्जको एडभान्स अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा स्वाँसप्रस्वासमा समस्या देखेपछि कोरोना भाईरसको आशंकामा पीसीआर परिक्षणको लागि स्वाब संकलन गरिएको थियो । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा रिपोर्ट पोजेटिभ आएपछि गत ८ गते कोभिड अस्पताल गण्डकमा रेफर गरिएको थियो । उपचारको क्रममा आज बिहान मृत्यु भएको उनले बताए । मृतक दुवैजनाको शव अन्त्येष्टिको लागि नेपाली सेनाको जिम्मा लगाईएको छ ।

यो संगै पर्सामा कोरोना संक्रमितबाट ज्यान गुमाउँनेको संख्या १० पुगेको छ । पर्साका ५, बाराका ३ र रौतहटका १ जना हुन् । वीरगन्जमा २ महिना पहिले बेवारिसे भेटिएका एक संक्रमित शवको भने अहिलेसम्म पनि पहिचान खुल्न सकेको छैन् । अहिले पनि तीनजनाको स्वास्थ्य अवस्था गम्भिर रहेकोले कोभिड अस्पतालको आईसियु कक्षमा राखेर उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्